डडेल्धुरा: डडेल्धुरामा सर्वाधिक धनराशीको खुला भलिबल प्रतियोगिता हुने भएको छ। स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुरा बहुमुखी क्याम्पसले सर्वाधिक धनराशीको चौथो संकरणको ‘स्ववियु कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता’ आयोजना गने भएको हो।
स्ववियले बुधबार जिल्ला समरमुकाममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । आयोजकका अनुसार प्रतियोगिता असोज ६ गतेदेखि ९ गतेसम्म संचालन हुनेछ। डडेल्धुरामा सरकारी स्तरबाट राष्ट्रिय खेलसमेत रहेको भलिबलका प्रतियोगिता नभइरहेका बेला आफूहरूले प्रतियोगिता आयोजना गर्न लागेको डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगतबहादुर ऐरले बताए।
स्थानीय खेलाडीहरूको स्तरवृद्धि विकासमा टेवा पुगोस् भन्ने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तिर्राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाउने आयोजनकको दाबी छ।
‘प्रतियोगिता खेल्नका लागि राष्ट्रिय स्तरका खेलाडीहरू यहाँ आउँछन्। त्यसबाट यहाँका खेलाडीहरूले धेरै कुराहरू सिक्ने मौका पाउँछन्,’ सभापति ऐरले भने, ‘जिल्लामा भलिबल प्रतियोगिताहरू त्यति धेरै भइरहेका छैनन्। हामी राष्ट्रिय खेल आयोजना गर्दै आएका छौं।’
हरेक वर्ष स्ववियुले खुला पुरुष भलिबल प्रतियोगिता गर्दै आएको थियो। कोरोना संक्रमणका कारण दुई वर्ष प्रतियोगिता आयोजना भएको थिएन। प्रतियोगिताको पुरुष तर्फको विजेता टिमलाई एक लाख ५१ हजार, उपविजेतालाई ७५ हजार र तेस्रो हुने टिमलाई ४० हजार नगदसहित ट्रफी र मेडर प्रदान गरिने स्ववियु सभापति ऐरले बताए।
उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विधागततर्फ उत्कृष्ट ६ जनालाई पनि नगदसहित पुरस्कृत गरिने छ। उनका अनुसार प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । यस्तै महिलातर्फ भने डडेल्धुरा बहुमुखी क्याम्पसको आन्तरिक प्रतियोगिता मात्रै हुने स्ववियू सभापति ऐरले जानकारी दिए। महिलातर्फ विजेता टिमलाई १० हजार, दोस्रो हुने टिमलाई ५ हजार र तेस्रोलाई तीन हजार नगद प्रदान गरिनेछ।
प्रतियोगिता आयोजनाका लागि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले १० लाख बजेट विनियोजन गरेको छ भने प्राविधिक सहयोग डडेल्धुरा भलिबल संघले गर्ने जनाइएको छ। डडेल्धुरा बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता भलिबल संघको मापदण्डअनुसार सञ्चालन हुनेछ।
प्रतियोगिता सम्पन्न गर्नका लागि १२ लाख ८ हजारसम्म खर्च लाग्ने आयोजकले जनाएको छ। प्रतियोगितामा सुदूरपश्चिमका साथै देशभरका गरी १५ टिमसम्मले सहभागिता जनाउने अपेक्षा लिएको स्ववियु सभापति ऐरले बताए।