Radio Unity 92.2MHz

डडेल्धुराको प्रसिद्ध ‘शिखर जाँत’ आज

डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ को महाभारत वनक्षेत्रको घनाजंगलमा लाग्ने यस क्षेत्रकै प्रसिद्ध लाटागन्यापको ‘शिखरजाँत’ बिहीबार राति हुँदै छ। प्रत्येक वर्ष भाद्र चतुर्दशीको राति लाग्ने धार्मिक शिखर मेलाको आफ्नै महत्व र गौरव छ।

शिखरको गात ‘ठूलो ढुंगा’ सम्म पुग्नुभन्दा अगाडि विभिन्न ठाउँ(ठाउँमा दूध ढाल्नेमा दूध, अगरबत्ती तथा फूलपाती चढाएर पूजाआजा गरेर जाने विशेष परम्परा रहेको छ। शिखर पुग्नु अगाडि गणेपानी ‘खोलामा’ हात खुट्टा धोएर जाने गरिन्छ भने बिहान हिँडेका दर्शनार्थी साँझ ७र८ बजे तिर गात शिखरमा पुग्छन्।

शिखरमा ६ गाउँबाट देउरो जाने गर्दछन्। गन्यापधुरा गाउँपालिकास्थित मालिगाउँ, रुमायल, जैसेरा र रेल यस्तै डोटीको शिखर नगरपालिकाको थप्सा र बानी डुग्रेसैनबाट संयुक्त रुपमा देउरो जाने परम्परा रहेको छ। देउरो जाने क्रममा पनि विभिन्न ठाउँहरूमा दाइन, दमाहा तथा भोक्करहरू बजाएर जाने गरिन्छ। दमाहा पनि लाटागन्याप देवताबाट विशेषा अधिकार प्राप्त दमाइ जातिका व्यक्तिहरूले मात्रै बजाउने गर्दछन्।

मेला भर्नको लागि जाने दर्शनार्थीले साता अगाडिदेखि नै शुद्ध खानेकुरा खाने गर्दछन्। यसरी चोखो खाना खाएर उपासना गरि मेलामा सहभागी भइ चोखो मनले मागेको वरदान पूरा हुने धार्मिक विश्वास रही आएको छ। मेला भर्नको लागि डडेल्धुरा, डोटी लगायत सुदूरपश्चिम तथा देशका विभिन्न ठाउँहरूबाट भक्तजनहरू आउने गरेको लाटागन्याप क्षेत्र विकास समितिले जनाएको छ। मेलाको अवसरमा बिहीबार गाउँपालिका पालिकाभित्र सार्वजनिक बिदासमेत दिएको छ।

जाँतमा गाइने देउडा, फाग, चैत, धुमारी पनि लाटागन्यापको गाथामा आधारित हुने गरेको छ। मेलाको अवसरमा उक्त क्षेत्रमा माछा, मासु र मदिरा पूर्ण रुपमा बन्द गरिएको छ। पौराणिक मान्यता अनुसार रुमाइलगाउँका आदि पुरुष फुल भाटले पत्नीसहित द्यौझालको घना जंगलमा गएर तपस्या गर्दा ईश्वर खुशी भएर पहेलो सर्पको रुपमा प्रकट भएको विश्वास छ। अनि फुल भाटकी श्रीमतिले सर्पलाई कहाँ राख्ने भनि विचार गर्दा धान राख्ने भकारी उपयुक्त हुने ठानी त्यहिँ राखि दिएका थिए।

त्यसपछि फुलभाटको घरमा अन्नको कमी कहिल्यै नभएको मानिन्छ। फुल भाटकी श्रीमति निष्ठावान भएकीले एकदिन एकजना गाउँले के नै गर्ने रहेछन् भनी जाँच्नका लागि फुल भाटको लौरो चोरेर लगि फुल भाटकी श्रीमतीलाई फुलभाटले खाना नकुर्नु भनी खबर पठाएको र प्रमाणका रुपमा लौरो ल्याएको भनी लौरो देखाएछ।

फुल भाटकी श्रीमतिले विश्वास गरेर खान सुरु गर्दा पति घर पुगेछन्। अनि हतार(हतार थाली कता लुकाउने भनि खोज्दा त्यही धानको भकारीमा हाल्न पुगिन्। त्यसपछि देवताले अपमान भएको भनी ठानी त्यहाँबाट बाहिरिएर गएको किंवदन्ती रहेको स्थानीय बताउँछन्। फेरि दुबै पतिपत्नी पछिपछि माफी माग्दै हिँडेछन्। अनि देवता शिखरको शिलामा पुगी बिलीन भएछन्। त्यहीं भाट दम्पतीले पनि मुक्ति पाएको किंवदन्ती छ । शिखरको गात ‘ठूलो ढुंगामा’ अझै पनि नाग देवता हिँडेको छाप देख्न सकिन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...