Radio Unity 92.2MHz

प्रदेशको मन्त्री भएर धेरै काम गरे तर देउवाले प्रधानमन्त्री हुँदा पनि केही गर्न सकेनन्

डडेल्धुरा: नेकपा एमाले डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका पठानसिंह बोहोरा, प्रधानमन्त्री शेरबहादुर देउवाको विरासत यसपटक तोडिने जिकिर गर्छन् ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन् ।

६ पटक चुनाव जितेर पाँच पटक प्रधानमन्त्री भए पनि देउवाले डडेल्धुराको विकासलाई अगाडि बढाउन नसकेको भन्दै बोहोराले, यसपटक जनताको निर्णय बदलिने दाबी गरे ।

‘हामी बाहिर गएर बस्दैनौं, जनताको बीचमा बस्छौं । यहाँको समस्यालाई सम्बोधन गर्नेगरी अगाडि बढ्छौं’,  बोहोराले भने, ‘जनतालाई पनि आह्वान गर्छौं- जनतासँगै बस्नेलाई मत दिनुहोस् ।’ प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री हुँदा आफूले उल्लेख्य विकास निर्माणको काम गरेकाले पनि मत पाउने उनको विश्वास छ ।

प्रदेश सरकारका पूर्वमन्त्री बोहोराले प्रस्तुत गरेको चुनाव जित्ने दावी यस्तो छ :

डडेल्धुरामा नेकपा एमालेको नेतृत्व कहिल्यै पनि स्थापित हुन सकेन । कुनैपनि चुनावमा एमालेको उम्मेदवार निश्चित भएन । एकपटक चुनाव लडेका व्यक्ति अर्को पटक मैदानमा उत्रन नपाउने परिस्थिति बन्दै आयो ।

बहुदल आएपछिको पहिलो चुनावमै एमालेसँग स्थापित लिडर थिएन । गोविन्दप्रसाद कलौनीलाई माध्यमिक विद्यालयको शिक्षकबाट राजीनामा गर्न लगाएर पार्टीले उम्मेदवार बनायो । उहाँले पनि एक चुनाव मात्रै लड्न पाउनु भयो, त्यसपछि पाउनुभएन ।

त्यसबेला हामी जति नेता थियौं, कम उमेरका थियौं । पढिरहेका विद्यार्थी पार्टीमा थियौं । त्यसबेलाका विद्यार्थी नेताहरु यो ३० वर्षको अवधिमा ५० माथि उमेरका नेता भइसक्यौं । एमालेमा नेतृत्व स्थापित हुन नसक्नुको कारण माओवादीको सशस्त्र विद्रोह पनि थियो । माओवादी विद्रोहकै कारण एमालेमा क्षति पुग्यो ।

माओवादीले चाहिँ त्यो बेला संगठन बिस्तार गर्यो प्रभाव बढायो । तर माओवादीले पनि जित्न सकेन । खगराज भट्टले जितिहाल्नुहुन्छ भन्ने लागेको थियो । डडेल्धुराकै बुझाइ पनि खगराज भट्टले जित्नुहुन्छ भन्ने थियो । तर ब्याडलक भनौं, थोरै भोटले हार्नुभयो । झण्डै १४ सय भोटले शेरबहादुर देउवाले नै जित्नुभयो ।

खगराज भट्ट हार्नुमा थोरै प्राविधिक कारण हो । त्यसबेला माओवादीको तयारी पुगेन । संयुक्त जनमोर्चासँग तालमेल गर्नुभयो । तर तालमेलको निर्णय निकै ढिलो भयो । जनमोर्चाले उम्मेदवारी दिएर प्रचारप्रसारको अभियान चलाइसकेपछि तालमेल भयो ।

जनमोर्चाका नेताहरुले सपोर्ट त गर्नुभयो तर मतदान हुँदा जनमोर्चाका कार्यकर्ताले भोट आफ्नै निर्वाचन चिह्नमा हाले ।

तालमेलको सन्देश मतदातासम्म लैजान सकेनन् । यदि तालमेलको भोट थपिएको भए खगराजले जित्नु हुन्थ्यो ।

तर नेपाली कांग्रेसको भने डडेलधुरामा पहिलेबाटै बलियो छाप रहेको देखिन्छ । २०३६ सालको जनमत संग्रहमा पनि डडेलधुरामा बहुदलले धेरै मत ल्याएको हो । त्यसपछि ६ पटक देउवाले चुनाव जित्नुभयो । अहिले पनि यहीँको मत पाएर देउवा देशको प्रधानमन्त्री हुनुहुन्छ, नेपाली कांग्रेसको सभापति हुनुहुन्छ ।

तर जसरी प्रधानमन्त्री भइरहनुभएको छ, लगातार जितिरहनुभएको छ, त्यसको तुलनामा सुदूरपश्चिम र डडेलधुराको विकास हुन सकेको छैन । उहाँको लेभल अनुसार कर्णालीको रुप फेरिएको छैन । सुदूरपश्चिम प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीको सन्दर्भमा प्रधानमन्त्री देउवाले केही पनि गर्नुभएको छैन । यहाँका जनताले आफ्नो मिहिनेतबाट जति खेतीबाली लगाउनुभएको छ, बाँकी जिविकाका लागि भारतका विभिन्न शहरमा रोजगारीमा जानुपर्ने बाध्यता कायमै छ ।

शेरबहादुर देउवाको पद र जिम्मेवारी बीच ठूलो अन्तर छ । राष्ट्रकै प्रमुखको जिम्मेवारी लिएर पनि डडेल्धुरामा गतिलो अस्पताल समेत छैन ।

तर मैले तीन वर्ष प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बन्ने अवसर पाएँ । यो अवधिमा मैले बाटाहरु फराकिलो बनाउने र कालोपत्रे बनाउने गरी योजना अगाडि बढाएको छु । पुलहरु बनाएको छु । केपी शर्मा ओली नेतृत्वको संघीय सरकारसँग समन्वय गरेर दीर्घकालीन महत्वको काम भएको छ ।

पञ्चायतकै पालामा खुलेका सडक कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएको छु । त्यसको उदाहरणका रुपमा बुडर-जोगबुढा खण्डलाई लिन सकिन्छ । यो सडक ३० वर्ष अगाडि खुलेको हो । तर म प्रदेशको मन्त्री भएपछि बल्ल स्तरोन्नति गर्ने प्रक्रियामा लगियो । प्रदेशलाई हस्तान्तरण भएपछि जोगबुढाबाट कञ्चनपुर जाने सडकको काम अगाडि बढेको छ ।

डडेलधुरा दुई भागमा बाँडिएको छ, सदरमुकाम भएको पहाडी क्षेत्र र तल्लो भित्री मधेश । भित्री मधेशमा रहेका डडेलधुरावासीलाई आफ्नै सदरमुकाम पनि डोटी भएर जानुपर्ने समस्या वर्षौंदेखि थियो । अर्को जिल्लाबाट आउँदा कम्तिमा एक साता सदरमुकाम जान लाग्ने अवस्था वर्षौंसम्म रह्यो । सबै सरकारी कार्यालय सदरमुकाममा रहेकाले जनतालाई ठूलो समस्या थियो । तीन वर्ष प्रदेश सरकारमा हुँदा त्यो समस्या हल गर्ने प्रयत्न गरें ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भएको पहिलो वर्षभित्रै भित्री मधेशका जनतालाई महाभारत छिचोलेर आफ्नो सदरमुकाम आउन जिल्लाकै बाटो बनाएँ ।

त्यसैले जनताले प्रश्न गर्ने ठाउँ मैले राखेको छैन । यो आउने चुनावमा पनि मतदातासँग भन्छौं- हामी निरन्तर जनतासँग छौं । यहाँबाट जितेर पनि जाने, पद पनि पाउने, तर जिल्लालाई नहेर्ने काम गर्दैनौं । पार्टीले मलाई नै उम्मेदवार बनाएको अवस्थामा प्रतिबद्धता गर्छु- म यहीँ बस्छु । कुनै शहरमा गएर, घरबार लगाएर बस्दिनँ । बसेको पनि छैन । यहीँ छु, लगातार छु ।

जनताको अवस्था बुझेको छु, नागरिकहरुको अवस्था बुझेको छु । यहाँका बाटोघाटो नपुगेको, खानेपानी नपुगेको, बिजुली नपुगेको, शिक्षा र स्वास्थ्य नभएको कहाँ हो भन्ने बुझेको छु ।

जनतासँग आहृवान गर्छु- जनताले अवसर दिंदा प्रदेश सरकारको मन्त्री हुँदा जसरी काम गरेको छु, त्यसरी नै गुनासोको ठाउँ नराख्नेगरी काम गर्नेछु । –अनलाइनखबर

सम्बन्धित पाेष्टहरु
Loading...