Radio Unity 92.2MHz

डडेल्धुरामा डेंगीका बिरामी बढ्दै, लार्भा नष्ट गर्ने अभियानको थालनी

डडेल्धुरा: डडेल्धुरामा डेंगीका बिरामी बढ्दै गएका छन्। डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुरा, बैतडी र डोटीका गरी ३२ जनामा डेंगी देखिएको छ। डडेल्धुरामा मात्रै अहिले डेंगुका १८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए।

बिहीबार जिल्ला सदरमुकाममा आयोजित ‘डेंगी ज्वरो रोकथाम तथा नियन्त्रणसम्बन्धी सरोकारवालासँगको अभिमुखिकरण तथा अन्तरक्रिया’ कार्यक्रम उक्त तथ्यंक प्रस्तुत गरिएको हो।

साउनदेखि हालसम्म संक्रमण देखिएका १८ जनामध्ये अमरगढी नगरपालिकाका १० जना, भागेश्वर गाउँपालिकाका ३ जना, गन्यापधुरा र नवदुर्गा २/२ जना तथा अजयमेरु गाउँपालिकाका १ जना छन्। जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा भने डेंगी का बिरामी भेटिएका छैनन्।

यसका साथै डेंगी रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान डडेल्धुरामा पनि थालनी गरेको हो।

देशव्यापी रूपमा फैलिरहेको डेंगीलाई नियन्त्रण गर्नका लागि लामखुट्टे टोकाइबाट बच्न सबैले सचेत रहनुपर्ने डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. चेतराज भट्टले बताए। डेंगी लाग्न नदिनका लागि आफूले बस्ने बासस्थान वरिपरी सरसफाई गर्नुका साथै यसका लक्षण देखा पर्ने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा जान उनले सुझाव दिए।

डा.भट्टका अनुसार ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा स–साना बिमिराहरू देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाक–वाक/बान्ता हुनेजस्ता लक्षणहरू डेंगी संक्रमणका सुरुवाती अवस्थामा देखिने गर्दछ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले डेंगी ज्वरो रोकथाम तथा नियन्त्रण अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताए। उनले डेंगी ज्वरो रोकथाम तथा नियन्त्रणमा लाग्न निर्देशनसमेत दिए।

डेंगी संक्रमणबाट बच्न झूलको प्रयोग गर्ने, लामो बाउला भएको लुगा लगाउने, पानी जम्ने खालड़ा खुल्ड़ी पुर्ने, घर वरिपरी पानी जामा हुनसक्ने टायरहरू नराख्ने तथा लामखुट्टेको टोकाइबाट जोगिनु नै यसबाट बच्ने उपाय भएको डा.भट्टको भनाइ छ।

उनका अनुसार पानी जम्न सक्ने भाँडाहरु गमला, फुलदानी, खाली बट्टा अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ । पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्ने उनले बताए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।