Radio Unity 92.2MHz

डडेल्धुरामा आत्महत्या बढेपछि रोकथामका लागि सचेतनामा जोड दिइँदै

'आत्महत्या गर्नु कायरता हो'

  • प्रकाश पार्की

डडेल्धुराः डडेल्धुरामा आत्महत्याका घटना बढ्न थालेपछि रोकथामका लागि सचेतनामा जोड दिइएको छ। जिल्ला प्रहरी कार्यालयले जिल्लाभर नै विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्याका घटना रोक्न सचेतनामा जोड दिइरहेको हो।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्या रोकथाम सम्बन्धि सचेतामूलक कार्यक्रम आइतबार जिल्ला सदरमुकाममा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सचेतामूलक कार्यक्रम गरिएको हो।

डडेल्धुरामा वर्षेनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ३० जनाले आत्महत्या गरेका छन्। जसमा १५ जना महिला र १५ जना नै पुरुष रहेका छन्।

आव २०७६/०७७ मा सबैभन्दा बढी अमरगढी नगरपालिकामा ८ जनाले आत्महत्या गरेको डडेल्धुराका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। उनका अनुसार आर्थिक २०७७/०७८ मा ४२ जनाले आत्महत्या गरेका छन्। जसमा २३ जना महिला र १९ जना पुरुष रहेका छन्। आव २०७७/०७८ मा सबैभन्दा बढी आलिताल गाउँपालिका १३ जनाले आफैंले देहत्याग गरेका छन्।

गत आर्थिक वर्ष २०७८/०७९ मा २७ जनाले आत्महत्या गरेका छन् । जसमा १८ जना महिला र ९ जना पुरुष रहेका छन्। गत आव २०७८/०७९ मा पनि आलितालमै सबैभन्दा बढी १३ जनाले आत्महत्या गरेका प्रहरी निरीक्षक जोशीले जानकारी दिए।

उनका अनुसार चालू आर्थिक वर्षका दुई महिनामा ६ जनाले आत्महत्या गरेको छन्। जसमा ४ महिला र २ जना पुरुष रहेका छन्। जिल्लामा आत्महत्या गर्नेमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ। जिल्लास्थिति सरोकारवालाहरूले आत्महत्या गर्न सबै पक्ष मिलेर आत्महत्याविरुद्ध सचेतना जगाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले प्रविधिको सही ढंगले प्रयोग नगर्दा पनि आत्महत्याका घट्ना बढेको बताए। उनले युवायुवतीहरूले मोबाइल फोनको सही ढंगले प्रयोग गर्न नसक्दा पनि समाजमा आत्महत्याको ग्राफ बढ्दै गएको बताए।

‘मोबाइल फोनको सही ढंगले प्रयोग गर्न नसक्दा हाम्रो समाजमा आत्महत्याका घटनाहरू बढ्दै गइरहेका हुन्,’ उनले भने, ‘मोबाइललाई सही ढंगले चलाए यसमा सबै संसार नै छ। तर हाम्रो समाजमा यस सदुपयोगभन्दा बढी दुरुपयोग बढेको छ। त्यसले गर्दा आत्महत्या पनि बढ्दै गएजस्तो लाग्छ।’

यसका साथै समाजमा रहेको बेरोजगारीको समस्याले आत्महत्या बढेको उनको तर्क थियो। उनले आत्महत्याका घटना रोक्न समाजमा सकारात्मक कुराहरू मात्रै फैलानुपर्ने बताए। ‘हामीले समाजमा सकारात्मक कुराहरू राख्दै जानुपर्छ। समाजमा रहेका नकारात्मक कुराहरूलाई हटाउँदै लैजानुपर्छ,’ उनले भने,‘हामी नगरपालिकाका सबै वडाहरूमा आत्महत्याका घटना न्यूनीकरण गर्नका कार्यक्रमहरू संचालन गर्छौं।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सबैले एकजुट भएर आत्महत्याविरुद्धका अभियानमा लाग्नुपर्नेमा जोड दिए। प्रविधिको दुरुपयोगले पनि आत्महत्याका घटनाहरू बढिरहेको उनको भनाइ थियो । यसका साथै उनले मानिसहरूले आत्महत्या रोज्नुको कारण खोज्न पनि जरुरी रहेको औंल्याएका छन्।

‘मान्छेलाई आत्महत्या गर्न बाध्य पार्ने धेरै कारणहरू छन्। ती कारणको पहिचान गरेर न्यूनीकरणतर्फ लाग्न आवश्यक छ,’ उनले भने, ‘यसको न्यूनीकरण गर्नका लागि समुदाय स्तरमा सचेनतामूलक कार्यक्रम गर्नुपर्ने देखिएको छ।’ उनले स्थानीयतहरूले समाजमा घट्न विभिन्न किसिमका हिंसाका घटनाहरूलाई न्यूनीकरण गर्नका लागि कार्ययोजना नै बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले आत्महत्या समाजमा डरलाग्दो रूपमा विकसित हुँदै गएको देखिएको बताए। कोभिडको महामारीपछि आत्महत्याका घटना बढेको उनको भनाइ छ ।

‘हाम्रो सुदूरपश्चिम प्रदेशमा पनि आत्महत्या बढ्दै गइरहेको छ। डीएसपी भट्टले भने, ‘यस प्रदेशका अन्य जिल्लाको तुलनामा डडेल्धुरामा आत्महत्या गर्नेको संख्या कम छ। तर, बढ्दै गइरहेको अवस्था देखिएको छ।’ उनले सबै पक्ष मिलेर आत्महत्या रोकथाममा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।

स्थानीय स्तरसम्म नै चेतनाको विकास गर्नु एकदमै जरुरी रहेको उनले औंल्याए। डीएसपी भट्टले आत्महत्यालाई कायरताको नमूनाको संज्ञा दिए। जीवन सुन्दर रहेको उल्लेख गर्दै उनले जिन्दगीलाई सुन्दर बनाउन सकारात्मक कुराहरू मात्रै सोच्नुपर्ने बताए।

कार्यक्रममा रुडुक डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खड्काले सबैले एकजुट भएर यसको न्यूनीकरणमा जुट्नुपर्नेमा जोड दिइन्। स्थानीय तहहरूले आत्महत्या रोकथाममा जुट्न आवश्यक रहेको उल्लेख गर्दै उनले आफूहरू पनि त्यस अभियानमा साथसहयोग गर्न तत्पर रहेको बताइन्। उनले सडक खन्नु मात्रै विकास नभई समाजमा सकारात्मक सन्देश जगाउनु पनि एक किसिमको विकास नै भएको तर्क गरिन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले आत्महत्या न्यूनीकरणमा मिडिया क्षेत्रले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कायर मान्छेले मात्रै आत्महत्याको बाटो रोज्ने गरेको बताए।

जिल्ला सदरमुकामको बसपार्कदेखि अमरगढी नगरपालिकाको कार्यालयसम्म सचेतनामूलक र्‍याली निकालिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला, जिल्ला सदरमुकाम क्षेत्रमा रहेका विद्यालयका शिक्षक विद्यार्थीको पनि सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।