Radio Unity 92.2MHz

डडेल्धुराका मेयर र उपमेयरका १२ उम्मेदवारलाई साढे चार लाखका दरले जरिवाना

डडेल्धुराः निर्वाचन आयोगले डडेल्धुराका मेयर र उपमेयरका १२ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तोकेको छ। पटक–पटक सूचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले जरिवाना तोकेको हो।

अमरगढी नगरपालिका ८ र परशुराम नगरपालिकाका ४ उम्मेदवारलाई जरिवाना गरेको आयोगले जनाएको छ।

आयोगले निर्वाचन खर्च नबुझाएकामा अमरगढी नगरपालिकामा राप्रपाबाट मेयरमा उठेका गणेशबहादुर भण्डारी, माओवादी केन्द्रबाट मेयरमा उठेका लक्ष्मणसिंह, राष्ट्रिय जनमोर्चाबाट मेयरमा उठेका पवनबहादुर बिष्ट र नेकपा एकीकृत समाजवादीबाट मेयरमा उठेकी संगिताकुमारी भण्डारीलाई जरिवाना तोकेको छ।

आयोगले अमरगढी नगरपालिकामा राप्रपाबाट उपमेयरमा उठेकी कविता जोशी, नेपाली काँग्रेसबाट उपमेयरमा उठेकी पार्वतीदेवी झुकाल, नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा उठेका भुवनराज पाठक, माओवादी केन्द्रबाट उपमेयरमा उठेकी शशीदेवी अवस्थीलाई पनि जरिवाना तोकेको छ। काँग्रेसकी उम्मेदवार झुकाल अमरगढीकी उपमेयरमा बिजयी भएकी थिइन्।

परशुराम नगरपालिकामा राप्रपाबाट मेयरमा उठेका दीर्घराज जोशी, राष्ट्रिय जनमोर्चाबाट मेयरमा उठेका रघुविर कामी, राप्रपाबाट उपमेयरमा उठेकी भागरथी चन्द ठकुरानी र नेपाली काँग्रेसबाट उपमेयरमा उठेकी कलापतीदेवी बोहोरालाई साढे चार लाखका दरले जरिवाना गरेको हो।

सम्बन्धित पाेष्टहरु
Loading...