Radio Unity 92.2MHz

डडेल्धुरामा सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता सुरु

डडेल्धुराः डडेल्धुरामा सर्वाधिक धनराशिको खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुरा बहुमुखी क्याम्पसको आयोजनामा सर्वाधिक धनराशिको चौथो संकरणको ‘स्ववियु कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता’ बिहीबारदेखि सुरु भएको हो।

बिहीबार एक औपचारिकसँगै सांस्कृतिक कार्यक्रमका बीच जिल्ला समन्वय प्रमुख गगनसिंह भण्डारीले प्रतियोगिताको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भण्डारीले यस्ता किसिमका प्रतियोगिताहरू आयोजना गर्न आवश्यक रहेको बताए। उनले प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्नेमा विश्वास व्यक्त गरे।

बिहीबारदेखि सुरु भएको प्रतियोगिता ९ गतेसम्म संचालन हुनेछ। प्रतियोगितामा १६ वटा टिम दर्ता भएको सभापति ऐरले जानकारी दिए। पुरुष खेलका प्रतिस्पर्धा शुक्रबारदेखि गराइने छन्।

डडेल्धुरामा सरकारी स्तरबाट राष्ट्रिय खेलसमेत रहेको भलिबलका प्रतियोगिता नभइरहेका बेला आफूहरूले प्रतियोगिता आयोजना गरेको डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगतबहादुर ऐरले बताए।

प्रतियोगिताको पुरुष तर्फको विजेता टिमलाई एक लाख ५१ हजार, उपविजेतालाई ७५ हजार र तेस्रो हुने टिमलाई ४० हजार नगदसहित ट्रफी र मेडर प्रदान गरिनेछ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार र विधागततर्फ उत्कृष्ट ६ जनालाई पनि नगदसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ। महिलातर्फ विजेता टिमलाई १० हजार, दोस्रो हुने टिमलाई ५ हजार र तेस्रोलाई तीन हजार नगद प्रदान गरिनेछ।

प्रतियोगिता आयोजनाका लागि सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले १० लाख बजेट विनियोजन गरेको छ भने प्राविधिक सहयोग डडेल्धुरा भलिबल संघको रहेको जनाइएको छ। प्रतियोगिता जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–८ स्थित क्याम्पसको खेल मैदानमा सञ्चालन गरिएको छ। प्रतियोगिता भलिबल संघको मापदण्डअनुसार सञ्चालन भइरहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...