डडेल्धुराः डडेल्धुराको आलिताल गाँउपालिका–२ गाङ्खेतमा अवस्थित उणिकोट माविमा प्लस टू पढाई सुरु भएको छ। डडेल्धुराकै विकट क्षेत्र अन्र्तगत रहेको यो विद्यालयमा प्लस टू पढाई नहुँदा विद्यार्थीले समस्या भोग्दै आएका थिए।
२०१६ सालमा स्थापना भएको यस विद्यालयमा प्लस टू पढाई नहुँदा विद्यार्थीले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै पढाई सुरु गरिएको वडाअध्यक्ष प्रमोद मल्लले बताए। लामो समयदेखिको पहल पश्चात सफलता हासिल गरेको भन्दै उनले खुसी व्यक्त गरे।
उणिकोट मै प्लस टू सञ्चालनमा आए पश्चात यस क्षेत्रका विद्यार्थीलाई राहत भएको छ। विद्यालयमा हाल कुल दुई सय ४६ विद्यार्थी अध्ययनरत छन्। पहिलो वर्ष कक्षा ११ मा २० जना विद्यार्थी भर्ना भएको विद्यालयले जनाएको छ।
सबै विद्यार्थी शिक्षा संकायमा भर्ना भएका हुन्। अध्यक्ष मल्लका अनुसार अहिले शिक्षा संकाय अन्र्तगत नेपाली र स्वास्थ्य विषयमा पढाई भइरहेको छ। आगामी दिनमा आवश्यकता अनुसार विषयबस्तु थप गर्दै लैजाने विद्यालयका प्रधानाध्यापक मदनसिंह साउदले बताए।
यसअघि प्लस टू पढाई नहुँदा आर्थिक अवस्था नाजुक भएका विद्यार्थीहरू पढाईबाट बन्चित भइरहेका थिए भने आर्थिक अवस्था राम्रो भएका विद्यार्थी डडेल्धुरा सदरमुकाम तथा तराईंका जिल्ला जाने गरेका थिए।