Radio Unity 92.2MHz

शान्ति र सौहार्दपूर्ण वातावरणमा दशैं मनाउन आग्रह

डडेल्धुरा: डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले शान्ति र सौहार्दपूर्ण वातावरणमा दशैं मनाउन आग्रह गरेका छन्। कर्मचारी मिलन केन्द्र डडेल्धुराले बुधबार आयोजना गरेको ‘वडा दशैं, दिपावली तथा छट पर्वको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा बोल्दै प्रजिअ जोशीले जिल्लावासी तथा सबै कर्मचारीहरूलाई सौहार्दपूर्ण रूपमा दशैं मनाउन आग्रह गरेका हुन्।

उनले दशैं–तिहारका बेला खानपानमा विषेश ध्यान दिन पनि अनुरोध गरे। उनले सबैलाई स्वास्थ्यको ख्यान गर्न र आवश्यकरूपमा जे पायो त्यहीँ नखान पनि आग्रह गरे। उनले जिल्लास्थित सबै कर्मचारीहरूलाई सभ्य भएर चाडपर्व मनाउनसमेत अनुरोध गरे।

सिडियो जोशीले दशैं मनाएर समयमै कार्यालयमा हाजिर हुने कर्मचारीहरूलाई निर्देशन दिए। चाडपर्वको बेला पनि सेवाग्राहीको भीड हुने कार्यालयका प्रमुखलाई उनले कर्मचारीहरूलाई सेवाग्राही मारमा नपर्ने गरी व्यवस्थापन गर्न पनि निर्देशन दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले सबैलाई सभ्य र मर्यादित भएर चाडपर्व मनाउन आग्रह गरे। उनले दशैं–तिहारलगायतका हिन्दू नेपालीहरूका ठूला चाडपर्वमा मदिरा सेवन तथा विक्रीवितरण नगर्न सबैमा अनुरोध गरे। भागेश्वर मदिरा निषेधित क्षेत्र भएपनि बैतडीका पालिकाहरूबाट तल्लोस्तरको मदिरा गाउँपालिका भित्रिने गर्दा समस्या रहेको अध्यक्ष चटौतले बताए।

डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले चाडपर्वमा सवारी दुर्घटना हुने भएकाले यात्रुहरू पनि सचेत हुनुपर्नेमा जोड दिए। प्रहरीले चेकजाँच गरिरहेको भएपनि कतै चालकले मदिरा सेवन गरेर गाडी चलाइरहेको देखेमा प्रहरीलाई खबर गर्न आग्रह गरे।

यस साथै उनले महिला दिदीबहिनीहरूलाई माइत जाँदा वा बजारमा किनमेल गर्न आउँदा ठूल्ठूला गरगहना नलगाउन अनुरोध गरे। भीडभाडमा चोरी हुने सक्ने भएकाले उनले सो आग्रह गरेका हुन्।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले पनि चाडपर्वमा उच्छृंखल गतिविधि नगर्न आग्रह गरे। उनले चाडपर्वमा सावरी दुर्घटनाका घट्ना बढी हुने भएकाले प्रहरी प्रशासनले त्यसतर्फ चनासो हुनुपर्ने र चेकजाँचमा तीव्रता दिनुपर्ने बताए।

कार्यक्रममा जिल्लास्थित सरकारी कर्मचारी, जनप्रनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र पत्रकारहरूको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...