Radio Unity 92.2MHz

डडेल्धुरामा हुने ‘दिजगंगा मेमोरियल’ टी–२० क्रिकेटको खेल तालिका सार्वजनिक

  • प्रकाश पार्की

डडेल्धुरा: डडेल्धुरामा आयोजना हुने प्रथम दिजगंगा मेमोरियल पुरुष टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यहीँ असोज २३ गतेदेखि अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा सुरु हुने प्रतियोगिताको आइतबार खेल तालिका सार्वजनिक भएको हो ।

डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोपगिता असोज २९ गतेसम्म संचालन हुनेछ । जिल्ला सातवटै स्थानीय तहका टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिका र आलिताल गाउँपालिका छन् । समूह ‘बी’ मा परशुराम नगरपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिका रहेका छन् ।

खेल तालिकाअनुसार उद्घाटना खेलमा अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिका भिड्न भएका छन् । यी दुई टिमबीचको खेल बिहान ८ बजेदेखि सुरु हुनेछ । सोही दिन दिउँसो १ बजेदेखि गन्यापधुरा र आलिताल गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

२४ गते बिहान अमरगढी नगरपालिका र गन्यापधुराबीच म्याच हुँदा दिउँसो आलिताल र भागेश्वर भिड्ने छन् । यस्तै, २५ गते बिहान परशुराम नगरपालिका र अजयमेरु गाउँपालिका भिड्दा दिउँसो अमरगढी र आलितालबीच प्रतिस्पर्धा हुनेछ । २६ गते बिहान परशुराम र नवदुर्गाबीच प्रतिस्पर्धा हुँदा दिउँसो भागेश्वर र गन्यापधुराबीच खेल हुनेछ।

२७ गते एक मात्रै म्याच हुनेछ। बिहान नवदुर्गा र अजयमेरुबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार बिहान हुने सबै खेल ८ बजे र दिउँसो हुने म्याच १ बजेदेखि सुरु हुनेछन्। २८ गते दुवै सेमिफाइनल म्याच खेलाइने छ। पहिलो सेमिफाइनलमा बिहान समूह ‘ए’ विजेता र समूह ‘बी’ उपविजेताबीच प्रतिपर्धा हुनेछ। सोही दिउँसो हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता र समूह ‘ए’ उपविजेताबीच भिडन्त हुनेछ।

पहिलो र दोस्रो सेमिफाइनलको विजेता टिम फाइनलमा प्रवेश गर्नेछ । फाइनल म्याच असोज २९ गते बिहान ८ बजेदेखि सुरु हुनेछ। असोज १२ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता अविरल वर्षाले खेल मैदान जलमग्न भएपछि ११ दिन पछि सरेको थियो।

प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ५१ हजार र उपविजेता टिमले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी पाउने आयोजकले जनाएको छ। टिम दर्ता शुल्क ४० हजार राखिएको थियो। सबै टिमका १६–१६ खेलाडीका लागि जर्सीको व्यवस्था आयोजकले नै गरेको हो।

खेल तालिका :

सम्बन्धित पाेष्टहरु
Loading...