Radio Unity 92.2MHz

उग्रतारा भगवती मन्दिरमा भव्य अष्टमी मेला

डडेल्धुरा: सुदुरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष अष्टमीको दिन लाग्ने मेला यसवर्ष पनि लागेको छ। सोमबार उग्रतारा भगवती मेलामा बिहानैदेखि भक्तजनको घुइँचो लागेको थियो।

डडेल्धुरा सदरमुकामबाट चार किलोमिटरको दूरीमा अमरगढी नगरपालिका–८ को सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा लागेको मेलामा हजारौं दर्शनार्थी पूजा आराधना गर्न पुगेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए। अष्टमी मेलामा सोमबार १५ राँगा र २२ वटा बोकाको बलि दिइएको उनले बताए।

उनका अनुसार मेलामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला तथा अन्य स्थानलगायत भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन मेला भर्न आउने गर्दछन्। विशेषगरी दशैको अवसर पारेर घरतिर आएका भक्तजन एवं धार्मिक आस्थावान नागरिक उग्रतारामन्दिर पुग्ने गरेका छन्।

अष्टमी मेला राँगा, बोका काटिने तथा व्यापार व्यवसाय एवं आफन्तजनसँगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात रहेको छ। मेलामा अम्बा, ओखर, केरा, दाडीम लगायत स्थानीय स्तरमा उत्पादित विभिन्न चिजको राम्रो व्यापार हुन्छ।

किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातीका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आइएको छ।

विजया दशमीको आठौं दिन भगवती गौरीमाताको उत्पन्न हुने दिन भएकोले हरेक वर्ष अष्टमीको दिन यहाँ मेला लाग्ने गर्दछ । आफूले मागेको मनोकामना पूरा हुने विश्वास भएकाले सुदूरपश्चिमबाहेक अन्य जिल्ला तथा भारतबाट समेत दर्शनार्थी आउँछन्।

उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महत्वपुर्ण शक्तिपीठका रुपमा रहेको छ। चैत अष्टमी, त्यसैगरी विजय दशमीको अष्टमीको दिन र कार्तिक पूर्णीमाका दिन ‘देहिजाँत’ ठूलो मेला लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।