डडेल्धुरा: डडेल्धुरामा बस र ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्। कैलालीको अत्तरियाबाट बझाङतर्फ आइरहेको बस र बझाङबाट धनगढीतिर जाँदै गरेको ट्रक जिल्लाको आलिताल गाउँपालिका–१ स्थित घण्टेश्वर सातको मोडमा ठोक्किएका हुन्।
सोमबार दिउँसो १२ः४० बजेतिर सुदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से १ ख ८७८ नम्बरको ट्रक ठोक्किएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं प्रवक्ता उमाकान्त जोशीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन्। उनीहरूमध्ये ४ जनाको अवस्था अलि गम्भीर रहेको जोशीले बताए। घाइते २ जनालाई धनगढी र २ जनालाई डडेल्धुरा अस्पताल ल्याइएको छ।
गम्भीर घाइतेमध्ये बस चालक धनगढी गेटा बस्ने कालुराज चौधरीको परिचय खुलेको छ। बाँकीको परिचय खेलेको छैन। सामान्य घाइतेहरूलाई अर्को बसको व्यवस्था गरी गन्तव्यतिर पठाइएको प्रवक्ता जोशीले जानकारी दिए। बसमा २४ जना सवार रहेको प्रहरीले जनाएको छ।