Radio Unity 92.2MHz

दसैँले डडेल्धुराका मुख्य बजार सुनसान, गाउँमा चहलपहल

डडेल्धुरा: हिन्दू नेपालीहरूको महान् पर्व दसैँले डडेल्धुराका मुख्य बजारहरू प्रायः सुनसान छन्। बजार क्षेत्रका बासिन्दा दसैँ मनाउन आ–आफ्नो गाउँ गएपछि जिल्लाका प्रमुख बजारहरू सुनसान भएका हुन्।

जिल्ला सदरमुकामको मुख्य बागबजारसहित तुफानडाँडा, कीर्तिपुर, स्याउले, भात्काँडा, पोखरालगायत बजार सुनसान बनेका हुन्। दसैँअघि निकै चहल पहल हुने यी बजारका धेरै जसो पसलहरू बन्द हुँदा बजार क्षेत्र सुनसान देखिएका छन्।

विद्यार्थी, कर्मचारी, व्यापारी, राजनीतिक दलका नेता कार्यकर्ता लगायतका कारण भिडभाड भैरहने बजार यी सबै दसैँ मनाउन गाउँघर तर्फ लागेकाले भिडभाड शून्य छ। पसलसँगै बैंक तथा वित्तीय संस्था, अधिकांश सरकारी कार्यालयहरू पनि बन्द हुँदा सदरमुकाम क्षेत्र सुनसान बनेको हो।

शहर बजार र देश विदेशबाट घर फर्किएका कारण गाउँघरमा चहलपहल निकै बढेको छ। गाउँमा दसैँको रमझम बढिरहेका बेला बजार क्षेत्र भने भएकाहरूले पनि छाडे पछि सुनसान बनेको छ। डेरा गरी बस्ने र घर भएकाहरू समेत धेरै जसो दसैँ मनाउन गाउँ गएका छन्।

यसअघिका दसैँको तुलनामा यो दसैँमा गाउँ जानेको संख्या बढी छ। विगत दुई वर्ष कोरोनाले गर्दा हर्षोल्लासका साथ दसैँ मनाउन नपाएकाले पनि यो वर्ष धेरैजसो मानिसहरू आफ्नो घरमा मान्यजनबाट टीका थाप्न गाउँघर आइपुगेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...