Radio Unity 92.2MHz

डडेल्धुरामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी तीव्र

  • प्रकाश पार्की

डडेल्धुराः आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि डडेल्धुरामा तयारी तीव्र पारिएको छ। जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तीव्र पारेको हो।

यसैक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार जिल्लामा सर्वपक्षीय र सर्वदलीय बैठक सम्पन्न गरेको छ। यसका साथै शुक्रबार नै जिल्लास्थित राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता र निर्वाचन कार्याक्रमका बारेमा जानकारीसमेत गराइएको छ।

सर्वदलीय बैठकमा जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले चुनावका बेला राजनीतिक दलहरूले गर्न पाउने र नपाउने गतिविधिका बारेमा जानकारी गराएका थिए। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला अदालतमा बिहीबार मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको थियो।

मुख्य निर्वाचन अधिकृत कार्यालयका लागि कर्मचारीहरू नियुक्त गरिसकिएको जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

‘यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गरिँदै छ। जहाँ एक उम्मेदवारले २५ जना मात्रै कार्यकर्ता ल्याउन पाउनेछन्,’ उनले भने, ‘विगतको जसरी ठूलो र्‍याली र बाजागाजासहित मनोनयन दर्ता गर्न जान पाइने छैन।’ मुख्य निर्वाचन अधिकृत वाग्लेले मनोनयन दर्ता सहज रूपमा सम्पन्न गर्न कार्यालय तयार रहेको बताए।

उनले सबै राजनीतिक दललाई पालैपालो गरी मनोनयन दर्ताका लागि समय दिइने पनि जानकारी दिए। मनोनयन दर्ता गर्दा प्रतिनिधि र प्रदेशसभाका लागि दुईवटा डेस्क राखिने उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले निर्वाचन विशेष सुरक्षा योजना कार्यान्वयन गरिरहेको बताए। ‘मतदान पूर्वको सुरक्षा, मतदानको दिनको सुरक्षा र मतगणनाको सुरक्षा योजना बनाएर अगाडि बढिरहेको छौँ,’ उनले भने, निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित भयरहित र विश्वसनीय बनाउन सबैको महत्वपूर्ण भूमिका रहन्छ।’

प्रजिअ जोशीका अनुसार १ सय १ मतदान स्थल र १ सय ३९ मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील मतदान स्थल तथा केन्द्रका रूपमा वर्गीकरण गरिएको छ। उनले सबै राजनीतिक दलहरूलाई पूर्णरूपमा निर्वाचन आचारसंहिता पालना गरिदिन आग्रहसमेत गरे। केही दिनमा म्यादी प्रहरीको अन्तिम नतिजा आउने र त्यसपछि उनीहरूलाई आवश्यक तालिम दिई कार्यक्षेत्रमा खटाउने उनले जानकारी दिए।

बैठकमा नेकपा एमालेका जिल्ला सचिव गजेन्द्र शाहीले कर्मचारी छनोटमा विशेष ध्यान दिन आग्रह गरे। वैशाखमा भएको स्थानीय तहको निर्वाचनका बेला कर्मचारी खटाउँदा बदमासी भएको उल्लेख गर्दै उनले यो निर्वाचनमा त्यस्तो हुन नदिन मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराए। आचारसंहिता पालना गर्न आफूहरू तयार गरेका पनि उनले प्रतिबद्धता व्यक्त गरे।

मुख्य निर्वाचन अधिकृत वाग्लेले आफू कर्मचारी छनोट र खटनपटनमा कुनै किसिमको पूर्वाग्रही नहुने दाबी गरे। निर्वाचलाई भयरहित रूपमा सम्पन्न गराउन राजनीतिक दल, पत्रकार र नागरिक समाजले विशेष सहयोग गर्नुपर्ने उनको भनाइ थियो। डडेल्धुरामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...