Radio Unity 92.2MHz

प्रदेशसभा १ मा बोहराले पाए चुनाव चिह्न ‘लाल्टिन’

डडेल्धुरा: डडेल्धुराको प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारी दिएका धनबहादुर बोहरा ‘धिरज’ले चुनाव चिह्न ‘लाल्टिन’ पाएका छन्।

बुधबार आयोगले निर्वाचन चिह्न प्रदान गर्ने क्रममा बोहराले ‘लाल्टिन’चिह्न पाएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। आलिताल गाउँपालिका–७ खिन्नेभाडीका बोहरा प्रदेशसभा १ मा चुनाव लड्न कस्सिएका छन्।

यस्तै, प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिनिधिसभा चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिह्न ‘सिरिञ्ज’ पाएका छन्।

बुधबार आयोगले निर्वाचन चिह्न प्रदान गर्ने क्रममा ढकालले ‘सिरिञ्ज’ अर्थात् सुई चिह्न पाएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। गुल्मीका ढकाल चुनाव लड्नकै लागि डडेल्धुरा आएका हुन्। प्रदेशसभा १ बाट स्वतन्त्र उम्मेदवारी दिएका महेश धामीले ‘पानीको धारा’ चुनाव चिह्न पाएका छन्।

यस्तै, डडेल्धुराको प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा तारा जोशीले चुनाव चिह्न ‘लाल्टिन’ पाएका छन्। सत्ता गठबन्धनबाट टिकट नपाएपछि डा. जोशीले प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।

एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका जोशीले २०७४ मा सोही क्षेत्रमा एमालेबाट चुनाव लडेका थिए। त्यतिबेला उनी झिनो मतले पराजित भएका थिए। जोशी बैद्धिक नेताका रूपमा परिचित छन्। प्रदेशसभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नवराज धिक्तले पानीको धारा चुनाव चिह्न पाएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...