Radio Unity 92.2MHz

डडेल्धुरामा प्रभावकारी बन्यो ‘सबैका लागि पढाइ’ कार्यक्रम

डडेल्धुराः पाँच गाउँपालिका र दुई नगरपालिका गरी साता स्थानीय तह रहेको डडेल्धुरामा ‘सबैका लागि पढाइ’ कार्यक्रम प्रभावकारी बनेको छ। सन् २०१९ जुलाइदेखि जिल्लामा सुरु भएको उक्त कार्यक्रम प्रभावकारी बनेको निष्कर्ष निकालिएको छ।

जिल्ला अपाङ्ग कल्याण सेवा समितिले बुधवार जिल्ला सदरमुकाममा आयोजित ‘जिल्लास्तरीय सिकाइ आदानप्रदान कार्यशाला’ का सहभागीहरूले कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकालेका हुन्। यस कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिइएको छ।

अपाङ्ग कल्याण सेवा समितिले सबैका लागि पढाइ कार्यक्रमअन्तर्गत तीन वर्षमा भएका काम र उपलब्धिहरू पनि सार्वजनिक गरेको छ। यो कार्यक्रम अपाङ्गता तथा कार्यगत सीमितता भएका बालविकासदेखि ३ कक्षासम्म अध्ययनरत बालबालिकाहरूमा लागू गरिएको थियो । जिल्लाका २ सय ४३ वटै सामुदायिक विद्यालयमा परियोजनाले काम गरेको वरिष्ठ कार्यक्रम अधिकृत जगदीशकुमार चुनाराले जानकारी दिए।

‘कार्यक्रमअन्तर्गत जिल्लामा रहेका १४ हजार ९ सय १ जना बालबालिकाको प्रारम्भिक पहिचान गरिएको थियो,’ उनले भने, ‘प्रारम्भिक पहिचानमा विद्यार्थीहरूमा सुनाइ, बुझाइ, हेराइ, शारिरक र संज्ञानात्मक क्षेत्रमा कार्यगत सीमितता देखाइएको थियो।’ उनका अनुसार प्रारम्भिक पहिचान कार्यगत सीमितता भएका ३ सय ६४ जना विद्यार्थीको स्वास्थ्य जेकजाँच गरी तीमध्ये २३ जनालाई सहायक सामग्री वितरण गरिएको छ।

३९ जना विद्यार्थीका लागि विद्यालयले वैयक्तिक शैक्षिणिक योजना बनाएर विद्यार्थीको पठन सिपको सुधार आएको छ। आलिताल गाउँपालिकाले आफ्नो पालिकाभित्रका विद्यार्थीहरूको स्वास्थ्य जेकजाँचको लागि २ लाख बजेट विनियोजनसमेत विनियोज गरेको थियो।

कक्षा कोठा व्यवस्थापन तथा समावेशी बसाइँको सुरुवात, संज्ञानात्मक क्षेत्रमा कार्यगत सीमितता भएका विद्यार्थीहरूका लागि वैयक्तिक शैक्षिणिक योजना निर्माण गरेर पठन सिपको सुधार भएको वरिष्ठ कार्यक्रम अधिकृत चुनाराले बताए।

स्वास्थ्य जाँचपछि विद्यार्थीहरूको पढाइमा सुधार आएको महेन्द्र मावि खलंगाकी शिक्षिका हरिप्रिया गैरालले बताइन्। उनले शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यार्थीहरूको प्रारम्भिक पहिचान हुनु निकै आवश्यक रहेको औंल्याइन्।

अमरगढी नगरपालिकाका शिक्षा शाखा अधिकृत हेमन्तराज पन्तले कार्यगत सीमितता भएका बालबालिकाहरूको सिकाइमा यस परियोजनाले सहयोग पुगेको आफूहरूले महसुस गरेका बताए। ‘कार्यक्रमले गर्दा जिल्लामा रहेका बालबालिकाको प्रारम्भिक पहिचान हुन सकेको छ,’ पन्तले भने, ‘परिचान भएका बालबालिकाको सिकाइका लागि स्थानीय सरकारले योजना बनाएर आफू बढ्नुपर्नेपर्छ,’ उनले स्थानीय सरकारले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्नेसमेत बताए।

अपाङ्ग कल्याण सेवा समितिका अध्यक्ष गणेशप्रसाद अवस्थीले परियोजनाको समायावधि सकिन लागेकाले यसको दायित्व स्थानीय सरकारले लिनुपर्ने बताए। कार्यशालामा उपस्थित जिल्लाका पालिका प्रमुख तथा उप्रमुखहरूले विगतमा पनि यस कार्यक्रमलाई सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी, भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौत, अजयमेरु गाउँपालिका उपाध्यक्ष बसन्ती पाल, गन्यापधुरा गाउँपालिकाका उपाध्यक्ष ज्ञानु कुमारी सेटी, आलिताल गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष कुम्भर बुढाले अपाङ्गता तथा कार्यगत सीमितता भएका बालविकासको शैक्षिक सुधारमा टेवा पुग्ने यस कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले कार्यक्रमलाई थप प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले कार्यक्रम सफल बनाउनमा सबै पक्षको सहयोग पनि आवश्यक रहेको औंल्याएका छन्।

ह्यान्डिक्याप इन्टरनेसनलका इम्पिमेन्टेसन म्यानेजर पदम महरले जिल्लामा सबैका लागि पढाइ कार्यक्रम प्रभावकारी भएको सुन्न पाउँदा खुसी लागेको बताए। उनले आगामी दिनमा पनि यस कार्यक्रमलाई सबैले मिलेर आगडि बढाउनुपर्नेमा जोड दिए।

परियोजनालाई नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआइडी), ह्यान्डिक्यापका इन्टरनेसनल र विश्व शिक्षाले सहयोग गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...