डडेल्धुराः डडेल्धुरामा प्रथम दिजगंगा मेमोरियल पुरुष टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। शनिबार एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका हुन्।
प्रतियोगिता अमरगढी नगरपालिका–३ रामलिला खेल मैदान (बगर)मा सञ्चालन भइरहेका छन्। डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहका टिमको सहभागिता रहेको छ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिका र आलिताल गाउँपालिका छन्।
समूह ‘बी’ मा परशुराम नगरपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिका रहेका छन्।
प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ५१ हजार र उपविजेता टिमले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी पाउने आयोजकले जनाएको छ।
टिम दर्ता शुल्क ४० हजार राखिएको थियो। सबै टिमका १६–१६ खेलाडीका लागि जर्सीको व्यवस्था आयोजकले नै गरेको हो। असोज १२ गतेदेखि हुने भनेको खेल बर्षाका कारण २९ गतेदेखि सुरु भएको हो।
यसैबीच, आजको पहिलो खेलमा अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाबीच प्रतिष्पर्धा भइरहेको छ। अमरगढी नगरपालिकाले टस जित्दै ब्याटिङ रोजेको छ भने भागेस्वरले फिल्डिङ गरिरहेको छ।