डडेल्धुराः डडेल्धुरामा शनिबारदेखि सुरु भएको प्रथम दिजगंगा मेमोरियल पुरुष टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत भागेश्वर र आलिताल गाउँपालिकाले विजयी सुरुवात गरेका छन्। भागेश्वरले अमरगढी नगरपालिकालाई र आलितालले गन्यापधुरा गाउँपालिकालाई हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गरेका हुन्।
उद्घाटन खेलमा अमरगढी नगरपालिकामाथि भागेश्वरले ५ विकेटको जित निकालेको छ। अमरगढीले दिएको १ सय ५२ रन लक्ष्य भागेश्वरले १३.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस जितेर ब्याटिङ गरेको अमरगढीले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो।
प्रतियोगिताको दोस्रो खेलमा आलिताल गाउँपालिकाले गन्यापधुरालाई १ सय २ रनले हराएको छ। आलितालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको गन्यापधुराले १२.२ ओभरमा अलआउट हुँदै ६१ रन मात्रै बनाउन सक्यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको आलितालले निर्धारित १५ ओभरमा २ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो।
यसअघि शनिबार एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेट प्रतियोगिताको उद्घाटन गरेका थिए। प्रतियोगिताका म्याचहरू अमरगढी नगरपालिका–३ रामलिला खेल मैदान (बगर)मा सञ्चालन भइरहेका छन्। डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा जिल्लाका सातवटै स्थानीय तहका टिमको सहभागिता छ।
प्रतियोगिताअन्तर्गत आइतबार तीन खेल हुनेछन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिका र आलिताल गाउँपालिका छन्।
समूह ‘बी’ मा परशुराम नगरपालिका, नवदुर्गा गाउँपालिका र अजयमेरु गाउँपालिका रहेका छन्। प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ५१ हजार र उपविजेता टिमले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी पाउने आयोजकले जनाएको छ।