Radio Unity 92.2MHz

डडेल्धुराको परशुराममा पहिलोपटक कक्षा १२ को पुरक परीक्षा

  • प्रकाश पार्की

डडेल्धुरा: डडेल्धुराको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिकामा पहिलो पटक कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षा संचालन भएको छ। राष्ट्रिय परीक्षा बोर्ड शाखा डडेल्धुराले पहिलोपटक त्यहाँ पुरक परीक्षा संचालन गरेको हो।

यसअघि सबै विद्यार्थीहरूको पुरक परीक्षा जिल्ला सदरमुकाममा हुँदै आएको थियो । यसपटक विद्यार्थीको संख्या धेरै भएकाले भित्रीमधेसमा पनि थप परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय डडेल्धुराका प्रमुख नारायणप्रसाद भट्टले जानकारी दिए।

उनका अनुसार सिद्धनाथ मावि परीक्षा केन्द्रमा परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका ७ विद्यालयका विद्यार्थीहरूले परीक्षा दिएका छन्। ३ सय ४७ जना विद्यार्थीका लागि सिद्धनाथ माविलाई परीक्षा केन्द्र तोकिएको प्रमुख भट्टले बताए।

‘जिल्लामा पुरक परीक्षाका लागि कूल तीन वटा परीक्षा केन्द्र तोकिएका छन्,’ प्रमुख भट्टले भने, ‘जसमा सिद्धनाथसँगै जिल्ला सदरमुकामको महेन्द्र मावि खंलगा र माउन्टेन बोर्डिङ स्कूल बागबजार रहेका छन्। महेन्द्र माविमा २ सउ ३० र माउन्टेनमा १ सय ९७ जना विद्यार्थीले परीक्षा दिँदै छन्।’

शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका प्रमुख प्रमुख नारदप्रसाद जोशीका अनुसार इकाइको सिफारिसमा परशुराममा परीक्षा केन्द्र थप गरिएको हो। भित्रीमधेसमा परीक्षा केन्द्र तोकिएसँगै परशुराम र आलितालका विद्यार्थीलाई सहज भएको दुर्गा मावि आलितालका शिक्षक इन्द्रबहादुर साउँदले बताए।

‘यसअघि जिल्ला सदरमुकाम आउँदा विद्यार्थीहरूको खर्च पनि बढी हुन्थ्यो,’ उनले भने,‘परशुराममै केन्द्र भएपछि यहाँ विद्यार्थीलाई निकै सहज भएको छ। सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ।’

आज आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरहरूमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा भएको परीक्षा बोर्ड शाखा कार्यालय डडेल्धुराका प्रमुख भट्टले जानकारी दिए।

उनका अनुसार पहिलो दिनको परीक्षा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। त्यस्तै सोमबार भोलि दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूहले परीक्षा दिने नियमहरूमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।

सम्बन्धित पाेष्टहरु
Loading...