डडेल्धुराः डडेल्धुरा प्रहरीले शुक्रबार दिउँसो ६ जना जुवाडे पक्राउ गर्यो। जिल्लाको अमरगढी नगरपालिका– ५ तुफानडाँडास्थित दोस्ती होटेलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्यो।
प्रहरी जुवा खेलिरहेको स्थानमा पुग्दा जुवाडेले भित्रबाट चुक्कुल लगाए। होटेलको बन्द कोठामा जुवा खेलिरहेकाहरूलाई पक्राउ गर्न डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टलेले ढोका फुटाउन आदेश दिएनन्। लगत्तै नेपाली कांग्रेसका एक नेता होटेल पुगे। र, बार्गेनिङ्ग सुरु भयो।
सुरुबाटै रमिता हेरिरहेका एकजना स्थानीयका अनुसार होटलमा ९ जना जुवा खेलिरहेका थिए। जसमा केही जनप्रतिनिधिहरूसमेत थिए। कांग्रेसका नेतासँगको बार्गेनिङ्गपछि प्रहरीले ३ जनालाई भगाएको त्यहाँका स्थानीय बताउँछन्। र, ६ जनालाई मात्रै नियन्त्रणमा लियो।
नियन्त्रणमा लिएका उनीहरूलाई मास्क लगाएर बाहिर निकालिएको थियो। नजिकै रहेका केही सञ्चारकर्मीले भिडियो बनाउन खोज्दा उल्टै प्रहरीले हप्काएर भिडियो खिच्न दिएन्। जुवाडे पक्राउपछि पनि प्रहरीले सञ्चारकर्मीलाई सूचना दिन आनाकानी गरिरह्यो।
साँझ अबेर गरि दिएको सूचनामा समेत प्रहरीले झुटो सूचना दियो। दिउँसो २ बजेतिरको घटना भएपनि प्रहरीले बेलुकी पाँच बजे पक्राउ गरेको भनेर सूचना दिएको छ। पक्राउ परेकाहरूबाट ८७ हजार ९७० रुपियाँ समेत बरामद गरेको छ।
तर, यता डडेल्धुराका डीएसपी भट्ट भने ६ जना मात्रै जुवा खेलिरहेको दाबी गर्छन्। युनिटी खबरसँग कुरा गर्दै उनले भने, ‘तपाईंले सुनेको कुरा मलाई नसुनाउनुहोस्। मेरो र अफिस भित्रको बारेमा कही सोध्नु छ भने भन्नुस्। ६ जना पक्राउ परेका छन् केही भन्नुछ?’ प्रहरीले देखाएको व्यवहार र राजनीतिक पहुँच भएका व्यक्तिलाई छोडेको भन्दै व्यापक आलोचना भएको छ।
‘सानालाई ऐन र ठूलालाई चैन’
‘सानालाई ऐन र ठूलालाई चैन’ यो उखान नेपाली समाजमा नौलो होइन। हरेक घटनामा पहुँच नहुनेहरूका लागि थुप्रै कानुनी आधार खडा गरिन्छन् भने सोही प्रकृतिका घटनामा पहुँच हुनेहरूका कागजात मिलाएर कानुनलाई हातमा लिने काम हुन्छ।
हरेक नागरिकका लागि कानुनको कार्यान्वयन समान हुनुपर्नेमा साना र ठूलाका आधारमा विभेदको सिकार बन्नु परिरहेको हुन्छ। जिल्लाका विभिन्न स्थानमा अहिले जुवातास भइरहँदा प्रहरी प्रशासन भने मौन छ।
डडेल्धुरा सदरमुकामका विभिन्न स्थानमा दैनिक लाखौँको जुवा भइरहेको स्रोतले बताएको छ। बिहीबार डडेल्धुराको अमरगढी नगरपालिका–४ को वडा कार्यालय नजिकै सयुक्त बजार अनुगमन भइरहेको थियो। एउटा पसलको अनुगमन भइसके पश्चात नजिकैको अर्को पसलमा अनुगमन गर्न जाँदा पसल नै बन्द थियो।
डडेल्धुराका सहायक प्रजिअ हेमप्रसाद ढकालले पसल खोल्न भन्दै पसलेलाई आग्रह गरे। तर, त्यहीँ पसलको माथिल्लो तलामा जुवा भइरहेको रहेछ। प्रहरीलाई देखेपछि घरको पछाडिबाट पसलेले जुवाडेलाई भगाउन सफल भए। जुवाडे भागिरहेको प्रहरलिे समेत देख्यो। तर, केही गरेन्। र, पसले आएपछि उनको पसलको अनुगमन भयो।
यो त एक उदाहरण मात्रै हो, अमरगढी नगरपालिकाको बागबजार, कीर्तिपुर, तुफानडाँडा, पोखरालगायतका स्थानमा दैनिक लाखौँको जुवा हुँदा पनि प्रहरी प्रशासन मौन भएको स्थानीले गुनासो गरको छन्। जिल्ला प्रहरी कार्यालयबाट एक किलोमिटरको दूरीमा रहेको बागबजारमा खुलेआम लाखौँको जुवा खेलिरहेको भए पनि नियमनकारी निकाय मौन देखिएको स्थानीयको आरोप छ।
‘दसैँ सकियो, तिहार आउँदैछ। बजार क्षेत्रमा दैनिक जुवातास भइरहेका छ,’ एक स्थानीयले भने, ‘जुवातास नियन्त्रणका लागि प्रहरीले त्यति चासो देखाएको छैन। प्रहरलिाई जानकारी भएपनि बार्गिनिङ चल्छ। प्रहरीले चाहे तुरुन्तै बन्द हुन्थ्यो। तर, चासो नदेखाएकै कारण दिनप्रतिदिन झन जुवातास खेल्नेको संख्यामा वृद्धि भइरहेको छ।’
प्रहरीले ठूला जुवाडेलाई पक्राउ गर्न नसकेको स्थानीयको आरोप छ। ‘प्रहरीले लाखौँका जुवा खेल्ने जुवाडेलाई समात्दैन। सामान्य रमाइलोका खेलिरहेकालाई नियन्त्रणमा लिन्छ,’ अर्का स्थानीयले भने।
सूचना संकलनका लागि सादा पोशाकमा बजारमा डुल्ने प्रहरी सिपाहीदेखि उच्च ओहदाका अफिसरसम्म जुवातास हुने अड्डाका बारेमा जानकार भए पनि अहिलेसम्म प्रहरीले ‘याक्सन’ लिन सकेको छैन। दा पोशाकमा बजारमा डुल्ने प्रहरी सिपाहीदेखि उच्च ओहदाका अफिसरसम्म जुवातास हुने अड्डाका बारेमा जानकार भए पनि अहिलेसम्म प्रहरीले ‘याक्सन’ लिन सकेको छैन।