डडेल्धुराः डडेल्धुराका सातवटै स्थानीय तह सम्मानित भएका छन्। जिल्ला अपाङ्ग कल्याण सेवा समितिले आइतबार एक कार्यक्रमकाबीच पाँच गाउँपालिका र दुई नगरपालिकालाई सम्मान गरेको हो।
‘सबैका लागि पढाइ’ कार्यक्रम प्रभावकारीमा सहयोग गरेको भन्दै अपाङ्ग कल्याण सेवा समितिले सातवटै स्थानीय तहका साथै जिल्ला समन्वय समितिलाई पनि सम्मान गरेको हो।
सन् २०१९ जुलाइदेखि जिल्लामा सुरु भएको उक्त कार्यक्रमको समायावधि सकिएको पनि छ। आइतबार कार्यक्रम समापन बैठकको आयोजना गर्दै अपाङ्ग कल्याण सेवा समितिले स्थानीय तहहरूलाई प्रशंसा पत्र प्रदान गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समवन्य समितिका प्रमुख गगनसिंह भण्डारीले स्थानीय तहहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए। यो कार्यक्रम अपाङ्गता तथा कार्यगत सीमितता भएका बालविकासदेखि ३ कक्षासम्म अध्ययनरत बालबालिकाहरूमा लागू गरिएको थियो ।
जिल्लाका २ सय ४३ वटै सामुदायिक विद्यालयमा परियोजनाले काम गरेको वरिष्ठ कार्यक्रम अधिकृत जगदीशकुमार चुनाराले जानकारी दिए।
कार्यक्रमअन्तर्गत जिल्लामा रहेका १४ हजार ९ सय १ जना बालबालिकाको प्रारम्भिक पहिचान गरिएको थियो। वरिष्ठ कार्यक्रम अधिकृत चुनाराका अनुसार प्रारम्भिक पहिचानमा विद्यार्थीहरूमा सुनाइ, बुझाइ, हेराइ, शारिरक र संज्ञानात्मक क्षेत्रमा कार्यगत सीमितता देखाइएको थियो। प्रारम्भिक पहिचान कार्यगत सीमितता भएका ३ सय ६४ जना विद्यार्थीको स्वास्थ्य जेकजाँच गरी तीमध्ये २३ जनालाई सहायक सामग्री वितरण गरिएको थियो।
३९ जना विद्यार्थीका लागि विद्यालयले वैयक्तिक शैक्षिणिक योजना बनाएर विद्यार्थीको पठन सिपको सुधार आएको छ। कक्षा कोठा व्यवस्थापन तथा समावेशी बसाइँको सुरुवात, संज्ञानात्मक क्षेत्रमा कार्यगत सीमितता भएका विद्यार्थीहरूका लागि वैयक्तिक शैक्षिणिक योजना निर्माण गरेर पठन सिपको सुधार भएको वरिष्ठ कार्यक्रम अधिकृत चुनाराले बताए।
प्रमुख अतिथि जिल्ला समवन्य समितिका प्रमुख गगनसिंह भण्डारीले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। स्थानीय सरकारलाई यस कार्यक्रमको जिम्मेवारी दिएर कार्यान्वयनमा सबैले प्रतिबद्ध हुनुपर्नेमा भण्डारीको जोड थियो।
गन्यापधुरा गाउँपालिकाकी उपाध्यक्ष ज्ञानु कुमारी सेटीले अपाङ्गता तथा कार्यगत सीमितता भएका बालविकासको शैक्षिक सुधारमा टेवा पुग्ने यस कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
अजयमेरु गाउँपालिकाकी उपाध्यक्ष बसन्ती पालले कार्यगत सीमितता भएका बालबालिकाहरूको सिकाइमा यस परियोजनाले सहयोग पुगेको र आगामी दिनमा पनि कार्यक्रमलाई सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताइन्।
अपाङ्ग कल्याण सेवा समितिका अध्यक्ष गणेशप्रसाद अवस्थीले परियोजना सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद दिए। उनले स्थानीय सरकारले यस कार्यक्रमलाई निरन्तरता दिनुपर्नेसमेत बताए। अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा संस्थाले सधैं काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
‘सबैका लागि पढाइ’ कार्यक्रमलाई नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, अमेरिकी अन्तराष्ट्रिय विकास नियोग ९यूएसएआइडी०, ह्यान्डिक्यापका इन्टरनेसनल र विश्व शिक्षाले सहयोग गरेको थियो।