डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमै चौलोले प्रख्यात डडेल्धुराको ‘बडाल जाँत’ कात्तिक १९ गते अर्थात् शनिबार लाग्ने भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालमा कात्तिक शुक्ल दशमीमा रतेडी र दोस्रो दिन अर्थात् कात्तिक १९ गते दिउसेडी हुने वडा अध्यक्ष मनोज देउवाले जानकारी दिए ।
लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ ।
शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ। दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुनेगर्छ।
शुक्रबार बेलुकीदेखि पूजाआजासँगै धार्मिक विधिवत् रूपमा जात सुरु हुनेछ। धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा शुक्रबार बेलुकीदेखि विधिवत् रूपमा देवताको पूजाआजा सुरु भएसँगै शनिबार बिहान भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ हुन्छ।
प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ। मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ल्याउने चलन रहेको छ। कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देवरो आउने गरेको भएपनि मूल देवरो भने मालीगाँउबाट ल्याउने चलन रहेको छ।
ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुनेगर्छ। मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापारसमेत हुने गरेको छ।