Radio Unity 92.2MHz

गृहजिल्लामा देउवाको व्यस्त सेड्युल, यी ८ चुनावी सभालाई गर्दैछन् सम्बोधन

डडेल्धुराः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराका ८ चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन्। देउवाले वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने सभालाई गर्ने भएका हुन्।

देउवा कात्तिक १७ गते आफ्नो निर्वाचन क्षेत्र आउने कार्यक्रम छ। देउवाले १७ गते जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। उक्त कार्यक्रम दिउँसो साढे १२ बजे राखिएको छ।

यस्तै कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र सोही दिनको दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ।

यसैगरी देउवाले १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने छन्। कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

देउवासँगै ती चुनावी आमसभालाई प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार खगराज भट्ट र प्रदेशसभा २ का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने जनाइएको छ। देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्। यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि विजयी भएका थिए।

२०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका उनी २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी अहिले पाँचपटक देशको प्रधानमन्त्री छन्। यसटकको चुनावमा देउवालाई पहिलोपटक कम्युनिस्ट पाटीले पनि साथ दिएका छन्।

अहिले देउवाविरुद्ध लामोसमय देउवाकै स्वकीय सचिव रहेका नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायतका ८ जना उमेदवार चुनावी मैदानमा छन्।

मल्ललाई नेकपा एमालेको समर्थन हुने बताइएकोमा एमालेले तालमेल तोडेको घोषणा गरिसकेको छ। उनी अहिले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका डा. तारा जोशीसँग चुनावी तालमेल गर्दै प्रचारमा व्यस्त छन्। गुल्मीबाट आएर देउवाविरुद्ध उमेदवारी दिएका इन्जिनियर ढकाल पनि एकल रूपमै प्रचारप्रसार गरिरहेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...