डडेल्धुराः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिरुद्ध उम्मेदवारी दिएका नेपाली काँग्रेस विपीका बरिष्ठ उपसभापति कर्णबहादुर मलले यसपटक देउवालाई हराउने ग्रह दशा रहेको बताएका छन्।
शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै मल्लले ज्योतिषले आफूलाई यस पटक देउवालाई हराउने ग्रह दशा रहेको भनेको बताएका हुन्।
‘देउवाले आफूलाई जोतिषले सात पटक प्रधानमन्त्री हुने भनेर भन्नुहुन्छ। अब उहाँ के का लागि छैठौं, सातौ पटक प्रधानमन्त्री बन्नुहुन्छ? मेरो ज्योतिषले पनि मलाई भनेको छ। यस पटक तिम्रो ग्रह दशाले शेरबहादुर देउवालाई हराउने छ,’ उनले भने।
देउवाले एकलौटी रूपमा सातौँ जिल्ला अधिवेशन तथा १४औँ महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए। स्थानीय तहको चुनावमा उनले नेपाली कांग्रेस बीपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो।
नेपाली काँग्रेस विपीका बरिष्ठ उपसभापति समेत रहेका मल्लले लामो समय देउवासँगै काम गरेका थिए। उनले आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा देउवाबिरुद्ध नै उम्मेदवारी दिएका छन्। मल्ललाई डडेल्धुरा प्रदेश ‘ख’ का स्वतन्त्र उम्मेदवार तारा जोशी र नेकपा एकीकृत समाजवादीको पनि साथ रहेको छ।