Radio Unity 92.2MHz

फारवेष्ट एग्रो जाइन्टको परिक्षण उत्पादन सफल

डडेल्धुराः डडेलधुरामा ७ करोडको लागतमा भटमास प्रशोधन उद्योगको परिक्षण उत्पादन सफल भएको छ। ‘किसानको–जवानी, किसानकै लगानी’ रहेको कम्पनी फारवेष्ट एग्रो जाइन्ट लिमिटेडको परिक्षण उत्पादन सफल भएको हो।

‘भीजन डडेल्धुरा’का अभियान्ता डा. ताराप्रसाद जोशीको पहलमा उद्योग सञ्चालनमा आएको हो। ७ सय ७७ जना सेयर सदस्य र १ हजार बढी भटमास उत्पादक कृषकहरू मिलेर उद्योग सञ्चालनमा ल्याइएको हो।

सुदूरपश्चिममा जनताको सामूहिक लगानीमा यति ठूलो उद्योग सञ्चालनमा आएको पहिलो पटक हो। यो उद्योगले सुदूरपश्चिमका र डडेल्धुराका गरि प्रत्यक्ष र अप्रत्यक्ष चार सय जनालाई रोजगारी दिने लक्ष्य राखेको कम्पनीका संस्थापक अध्यक्ष ताराप्रसाद जोशीले बताए।

‘मेरो कन्सेप्ट हो। यसमा सबै राजनीतिक दलका साथीहरूको पनि हात छ। सुरुमा भटमास उत्पादन हुने जिल्लाहरू छनोट भयो र सम्भाव्यता अध्ययन भयो,’ जोशीले भने, ‘कृषकहरूसँग समन्वय, बजारको अध्ययन, चुनौतीहरूको पहिचान, क्षमता आकलन र सँगसँगै भौतिक पूर्वाधार निर्माणका कामसँगै परिक्षण उत्पादन तथा उद्घाटन भएको छ।’

कम्पनीका थप उत्पादनहरू सोया मिल्क, प्यालेट दाना, मसला, टोफो, साबुन, रिफाइन खाने तेल आदी हुनेछन्। उद्योग डडेल्धुराको अमरगढी नगरपालिकामा आफ्नै ३० रोपनी जमिनमा स्थापना भएको छ। लागत ५० करोडको लागतमा उद्योग पूर्ण रूपमा सञ्चालनमा आउनेछ।

ग्रामीण कृषकहरूलाइ प्रोत्साहित गरी उद्योगमा संलग्न गराउने र आफ्नै कच्चापदार्थबाट तेल, पशु आहार र साबुन जस्ता अति आवश्यक उत्पादन सुरु हुनु हाम्रा लागि उत्साहजनक भएको नेकपा एमालेका अध्यक्ष प्रकाश साउँदले बताए।

उनले भने, ‘नेताहरू यो बनाउँछु त्यो बनाउँछु भन्छन्। जोशीकै जसरी सबैले उद्योग खोल्न पहल गरे यहाँका युवाहरूले रोजगारी त पाउँथे। तर, काम गर्दैनन् कुरा मात्रै गर्छन्।’

उनले उद्योग सञ्चालनसँगै भटमास उत्पादनमा पनि जोड दिनु पर्ने बताए। हाम्रो पुस्तालाई भनेर हुँदैन्। अब स्कुलमा गएर विद्यार्थीलाई जानकारी दिनुपर्दछ,’ उनले भने।

नेपाली काँग्रेसका सचिव शेरबहादुर भण्डारीले जोशीको कन्सेप्टको प्रशंसा गरे। पोषणका हिसाबले भटमास महत्वपूर्ण अन्न मानिन्छ। ‘गरीबको मासु’ भनेर पनि चिनिने भटमास उत्पादनतर्फ किसानको आकर्षण बढ्दो छ।

डडेल्धुरालगायत पहाडी जिल्लाहरूमा भटमासका लागि उर्बर माटो रहेको भएपनि त्यसको प्रयोग नुहँदा खेर गइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताए।

‘हाम्रो भटमास भारतमा पुग्छ। फेरी त्यहीँ तेल, सोयाविन लगाएतका बस्तु बनेर हामीकहाँ पुग्छ र हामी प्रयोग गर्न बाध्य छौं,’ उनले भने, ‘अब खेर जाने छैन। यतै प्रयोगमा आउनेछ।’

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।