Radio Unity 92.2MHz

डडेल्धुरामा चितुवाको शवमाथि धामीलाई सवार गराएर गाउँ घुमाइएपछि…

डडेल्धुरा: आइतबार डडेल्धुरामा रोचक घटना घटेको छ । जहाँ एक चितुवाको शवमाथि ‘धामी’लाई सवार गराएर घुमाइएको छ । यति मात्रै हैन गाउँलेहरूले उक्त मृत चितुवालाई एक मन्दिरमा लगेर पूजापाठ समेत गरेका छन् ।

यो घटना हो जिल्लाको अजयमेरु गाउँपालिका–६ कनाकोटको । सोही गाउँमा रहेको डागेश्वरी मन्दिरमा २५ गते मेला लागेको थियो। डागेश्वरी सनातन धर्म सेवा समिति कानाकोटका अध्यक्ष रामदत्त पन्तका अनुसार उक्त मेला ८ वर्षपछि भएको थियो ।

डागेश्वरी मन्दिर नजिकै रहेको गंगेश्वर भन्ने स्थानमा झण्डै दुई दशकपछि एक युवक काम्न थाले । तर स्थानीय केही व्यक्तिले मादक पदार्थ सेवन गरेर ती युवा काम्न थालेको भन्द्रै आलोचना गर्न थाले । ‘तर ती व्यक्तिले कामेरै अबको दुई दिनभित्र दुनियालाई थाहा हुनेगरी शक्ति देखाउँछु भने । नभन्दै दोस्रो दिन आज आइतबार डागेश्वर मन्दिर नजिकै देवल माविबाट गाल मटेला जाने बाटोमा चितुवा मृत फेला पर्‍याे,’ समितिका सचिव विष्णुदत्त पन्तले भने ।

त्यसपछि बाजागाजासहित देउवलबाट गंगेश्वर द्वार रहेको भण्डारी गाउँका लागि मरेको चितुवा र गंगेश्वरको धामीलाई लगिएको उनले बताए । चितुवाको शवमाथि धामीलाई बसाएर भण्डारी गाउँ पुगाइएको र त्यसपछि डागेश्वरी मन्दिरमा लगेर पूजापाठ गरिएको पन्तले जानकारी दिए ।

यस विषयमा डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख रामविचारी ठाकुरले पनि उक्त चितुवा मृत फेला परेको र गाउँलेले पूजापाठ गरेपश्चात अहिले शवलाई जिल्ला ल्याउन लागिएको बताए । ‘गाउँले तथा वडाले पूजापछि शव हस्तान्तरण गरेका छन् । यता पुगेपछि कानुन अनुसार पोस्टमार्टम गरेर शव व्यवस्थापन गर्नेछौं’ उनले भने ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।