डडेल्धुराका २३ मतदानस्थल अतिसंवेदनशील, चुनावको तयारी अन्तिम चरणमा
मौन अवधिको पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता
- प्रकाश पार्की
डडेल्धुरा: यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि डडेल्धुरामा मतदान स्थलको वर्गीकरण गरिएको छ। मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरिएको छ।
प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ क्षेत्र रहेको डडेल्धुराका १ सय १ मतदानस्थलमध्ये २३ मतदानस्थल अतिसंवेदनशीलमा परेका छन्। सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको जिल्ला सुरक्षा समिति डडेल्धुराले जनाएको छ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएको छ । जिल्लामा १ सय १ मतदानस्थल र १ सय ३९ मतदान केन्द्र कायम गरिएको छ। २३ अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्य मतदानस्थल रहेको प्रजिअ जोशीले बताए।
विगतको निर्वाचनमा देखिएका गतिविधि, अब हुनसक्ने गतिविधि, पूर्वाधारको विकास, सुरक्षा निकायको पहुँच, मतदाता र उम्मेदवारलाई आधार बनाएर मतदानस्थललाई वर्गीकरण गरिएको उनको भनाइ छ। बिहीबार जिल्ला सदरमुकाममा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा प्रजिअ जोशीले निर्वाचको सुरक्षा व्यवस्थापनका बारेमा जानकारी गराएका थिए।
‘हामीले निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गराउनका लागि तीन तहको सुरक्षा योजना बनाएको छौं,’ प्रजिअ जोशीले भने, ‘ मतदान पूर्वको सुरक्षा, मतदानको दिनको सुरक्षा र मतदान सम्पन्न भएपछिको सुरक्षा योजना बनाइएको र सोहीअनुसार कार्यान्वयन गरिनेछ।’
मतदान स्थलमा तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ। पहिलो घेरामा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने गरी व्यवस्थापन मिलाइएको प्रजिअ जोशीले बताए।
जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। ‘हामीले सुरक्षाकर्मी र निर्वाचन सामाग्रीसहित कर्मचारीलाई सम्बन्धित केन्द्रमा पठाइसकेका छौं,’ उनले भने, ‘चुनाव लागि जिल्लामा ११ सय ८ जना निर्वाचन कर्मचारीलाई नियुक्ति दिएर खटाइएको छ।’ चनुवाका लागि खटाइएका कर्मचारी मतदान केन्द्र बिहीबार साँझसम्म पुगिसक्ने उनको भनाइ छ।
मुख्य निर्वाचन अधिकृत वाग्लेले आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले यसको पूर्व पालना गरिदिन सबै राजनीतिक दलहरूलाई आग्रह गरे। बैठकमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले मौन अवधिको पूर्णरूपमा पालना गर्ने र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचनका लागि डडेल्धुरामा ९१ हजार २ सय १ जना मतदाता कायम भएका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा कूल मतदाता संख्या ४४ हजार ९ सय ६६ जना रहेका छन्। प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा कूल मतदाता संख्या ४६ हजार २ सय ३५ जना रहेको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।