डडेल्धुरा: डडेल्धुरामा ५६ प्रतिशत प्रतिशत मत खसेको अनुमान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका अनुुसार ५६ प्रतिशत मत खसेको आकलन गरिएको हो ।
जिल्लामा बिहानैबाट शान्तिपूर्ण तरिकाले मतदान भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण बाग्लेले जानकारी दिएका छन् । बाग्लेले भने, ‘५५/५६ प्रतिशत मत खसेको हामीले अनुमान गरेका छौ । एकीन तथ्याङ्क अब सबै क्षेत्रबाट के कति मत खसेको छ भन्ने विवरण आएपश्चात थाहा हुन्छ ।’
जिल्लाका १ सय १ ओटै मतदान स्थलमा शान्तपूर्ण रूपमा मतदान भएको बाग्लेको भनाइ छ । जिल्लामा यो चुनावको लागि ९१ हजार दुई सय १ मतदाता रहेका छन् भने एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेश सभा क्षेत्र रहेको छ । प्रतिनिधि सभाको एक सीटका लागि ८ जना चुनावी मैदानमा रहेका छन् ।
यो चुनावमा स्थानीय चुनावको जस्तो उत्साह नभएको पाइएको छ । मतदान केन्द्रहरुमा मतदाताको संख्या निकै कम रहेको पाइएको हो । निर्वाचन सम्पन्न गर्नका लागि दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिएका छन् ।
प्रजिअ जोशीका अनुसार डडेल्धुरामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मतगणना हुने स्थान तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना हुने भएको हो ।
सबै मतदान केन्द्रबाट मत पेटिका आउने क्रम जारी रहेको र मतपेटिका प्राप्त आएपछि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाका क्रममा हुने आवान्छित घटना रोक्नको लागि मतगणना स्थलमा सिसिटिभी क्यामेरा र तार जालीको प्रवन्ध गरिएको छ ।