डडेल्धुराः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा दिउँसो २ बजेदेखि मतगणना सुरु हुने भएको छ। दिउँसो २ बजेदेखि प्रतिनिधिसभाको मतगणना गरिने डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।
‘केहीबरे अगाडि सर्वदलीय बैठक सकिएको छ। दिउँसो २ बजेदेखि मत गन्ने निर्णय भएको छ,’ उनले भने, ‘हामी सुरुवात प्रतिनिधिसभाको मत गन्छौं। २ ठाउँमा मत गन्ने व्यवस्था मिलाएका छौँ।’ यहाँको सडकको दुरवस्थाका कारण मतपेटिका ढिला गरी जिल्ला सदरमुकाम ल्याइएको थियो। त्यसैले आइतबार दिउँसोबाट मात्रै मतगणना सुरु हुने भएको हो।
प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेल्धुरा शनिबार भएको चुनावमा ५६.६४ प्रतिशत मत खसेको थियो। ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए।
प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन्।
प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन्।
यसैगरी प्रदेशसभा–२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा। ताराप्रसाद जोशी, नवराज धिक्तलगायत छन्।