Radio Unity 92.2MHz

सागर ढकाल भन्छन्– देउवाले जिते पनि मैले जिते जस्तै हो

डडेल्धुरा: स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा शेरबहादुर देउवा विजयी भए पनि आफूले जिते सरह हुने बताएका छन्। मंगलबार बिहान फेसबुक लाइभमार्फत् उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन्।

उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे। ‘उहाँको पाँच वर्ष अब अन्तिम हो। उहाँले जिते पनि मैले जितजस्तै हो। डराउनुपर्दैन’, उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो। अब डडेल्धुराको भनेको सागर ढकाललै हो। सक्किसक्यो अब कम्पिटिसन नै छैन।’

उनले डडेल्धुराका युवालाई साथ दिएको धन्यवाद दिए। देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ। चुनावमा आफूहरूले निकै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई एकदमै राम्रो संकेत भएको पनि बताए।

‘अन्तिम नतिजा आइसकेको छैन, त्यति सारो खराब नतिजा पनि छैन, अहिलेसम्म १०–१२ हजार भोट मात्र गन्ती भएको छ, यहाँ करिब ५० हजार मत खसेको छ। सकारात्मक भइदिनु होला,’ सागरले भनेका छन्, ‘युवाहरू सबै आउनुपर्छ। धेरैजनाले सागर तिम्रो १००० मत पनि आउँदैन भन्दै हुनुहुन्थ्यो, त्यसको बावजुद हामी राम्रो भोट ल्याउँदै छौं।’ ढकालले डडेल्धुराबासीलाई गाली नगर्न पनि आग्रहसमेत गरेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...