काठमाडौं: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेतासँग छलफल गरेका छन्।
राष्ट्रपतिले सरकार गठनको लागि आह्वान गरेपछि प्रधानमन्त्री देउवा र रास्वपाका नेताबीच बालुवाटारमा हिजो भेटवार्ता भएको हो। भेटमा प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुनेबारे सोधेको प्रवक्ता मुकुल ढकालले बताए।
‘सरकार गठनका विषयमा छलफल भएको छ। प्रधानमन्त्रीले हाम्रो धारणा सोध्नुभयो,’ ढकालले भने, ‘हाम्रो एजेन्डामा प्रतिबद्ध हुनुपर्ने बताएका छौँ।’
हिजो संसदीय दलको नेता चयन भएलगत्तै सभापति लामिछानेसहितका नेताले प्रधानमन्त्री देउवासँग छलफल गरेका हुन्। पार्टीले सरकारमा जाने वा नजाने निर्णय गर्ने अधिकार पार्टी सभापति एवं संसदीय दलका नेता लामिछानेलाई दिइएको प्रवक्ता ढकालले बताए।