Radio Unity 92.2MHz

माओवादी सुदूरपश्चिममा दलको नेता छान्न बसेको बैठक अनिर्णत

धनगढीः सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता चयन गर्न बसेको बैठक अनिर्णत
भएको छ। दलको नेता चयनका लागि शनिबार दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालयमा बैठक बसेपनि साँझ ६ बजे बिना निष्कर्ष सकिएको हो।

संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम इनचार्ज खगराज भट्ट (विनोद) र केन्द्रीय सदस्य ओमविक्रम भाट (सरल) बीच सहमति नजुटेपछि कुनै निर्णय हुन नसकेको एक सांसदले बताए।

प्रदेश इन्चार्ज भट्टले दलको नेता चयनका लागि आइतबार बिहान ९ बजे फेरी बैठक बस्ने गरी स्थगित भएको जानकारी दिए। भट्टले सहमतिकै आधारमा दलको नेता चयन गरिने दाबी गरे। करिब ३ घण्टासम्म चलेको बैठकमा दलको नेतामा आकांक्षी भट्ट र भाटले दाबी नछाडेपछि बैठकले निर्णय लिन नसकेको हो।

सांसदहरूले आपसमा सहमति गर्न दुवै जनालाई वान टु वान वार्ता गर्न पनि समय दिएका थिए तर अन्तिम समयसम्म पनि उनीहरुबीच सहमति नजुटेको हो। शनिबार बसेको माओवादीको प्रदेश पदाधिकारीको बैठकले पार्टीको वरियताक्रमअनुसार खगराज भट्टलाई दलको नेता चयन गर्न उपयुक्त हुने निर्णयसहितको सुझाव दिएको थियो।

तर, संसदीय दलमा उनलाई चुनौती दिइरहेका भाटले भने आफ्नो पनि उचित व्यवस्थापन हुनुपर्ने अडान लिएका कारण कुरा नमिलेको एक सांसदले जनाए। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभामा ११ सांसदसहित दोस्रो दल बनेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...