Radio Unity 92.2MHz

पाँच वर्षभित्र गालीको वर्षा सुन्न नपर्ने गरी काम गरौँ : खगराज भट्ट

डडेल्धुराः सुदूरपश्चि प्रदेशसभाका सदस्य खगराज भट्टले पाँच वर्षभित्र गालीको वर्षा सुन्न नपर्ने गरी काम गर्नुपर्ने बताएका छन्।

सोमबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको अधिवेशनको पहिलो बैठकमा बोल्दै भट्टले पाँचवर्ष जनताको माझमा जाँदा गालीको वर्षा सुन्न नपर्ने गरी सदनले काम गर्नुपर्ने बताएका हुन्।

‘चुनाव जितेर हामी आइसकेपछि पाँचवर्ष जनताको बीचमा जाँदा गालीको वर्षा सुन्न नपर्ने, आलोचनाको भुमरीमा फस्न नपर्ने र नेताहरूप्रति आक्रोश र घृणाका आवाजहरू धेरै मात्रामा सुन्न नपर्ने परिस्थिति यो सदनले आफ्नो दायित्व र जिम्मेवारीको क्षेत्रभित्र लिनु पर्दछ,’ प्रदेशसभा सदस्य भट्टले भने, ‘थुप्रै नीति, कार्यक्रम र योजनाको बलमा हामीले यहाँका जनताको सपना र लक्ष्यमा सदनलाई लैजाने छौं।’

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमका संसदीय दलका नेतासमेत रहेका भट्टले राजतीतिक र दलगत संकृणताबाट माथि उठेर सबैले काम गर्नुपर्ने औंल्याए। यसका साथै उनले सुदूरपश्चिमलाई साँच्चिकै सुदूर र उदाउँदो सुदूरपश्चिमको रूपमा अगाडि बनाउने दायित्व आफूहरूमा आएको बताए।

‘सुदूरपश्चिम अभाव, गरिबी र पछेउटेपनको दलदलमा बसिरहेको छलो हो। यो भूमि सूर्य पनि अस्ताउन मात्रै आउने भनेर परिचित भएको छलो पनि हो,’ डडेल्धुरा प्रदेशसभा–१ बाट निर्वाचित भट्टले  भने, ‘हामीले सुदूरपश्चिमलाई सुदूर पश्चिम भनेर थुप्रै ठाउँमा पोस्टरमा लेखेको देखेका छौं तर वास्तविक रूपमा यसलाई सुदूर र राइजिङ सुदूरपश्चिमको रूपमा अगाडि बनाउने दायित्व हामीसँग छ।’

सम्बन्धित पाेष्टहरु
Loading...