Radio Unity 92.2MHz

बेरोजगारी समस्या समाधान गर्न योजना बनाएर अघि बढ्नुपर्छ : जोशी

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशीले बेरोजगारी समस्या समाधानका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन्।

सोमबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको अधिवेशनको पहिलो बैठकमा जोशीले यहाँको प्रमुख समस्याका रूपमा रहेको बेरोजगारीलाई समाधान गर्नका लागि योजना बनाउने पर्ने बताएका हुन्।

डडेल्धुरा प्रदेशसभा–२ बाट निर्वाचित सांसद जोशीले बेरोजगारीले एक व्यक्तिलाई मात्रै नभई सिंगो समाजलाई नै हानी गर्ने बताए। ‘बेरोजगारीले राजनीतिक व्यवस्थालाई हानी गर्दछ। बेरोजगारीले समाज, साँस्कृतिक, आर्थिक र राजनीतिक व्यवस्थालाई ध्वस्त गर्दछ,’ उनले भने, ‘अब हाम्रो प्रयास बेरोजगारीलाई अन्त्य गर्ने हुनुपर्छ। त्यसलाई कम गर्न हामीसँग भएको साधन–स्रोत, क्षमता, दक्षतालाई प्रयोग गर्नुपर्दछ।’

यसका साथै उनले पहाडबाट तराई क्षेत्रमा भइरहेको बसाइँसराइँका विषयमा पनि अध्ययन गर्नु आवश्यक रहेको औंल्याए। सांसद जोशीले पहाडमा रहेको व्यक्ति तराईमा घरेडी किन्ने पैसा कमाउने बित्तिकै कैलाली, कञ्चनपुरमा बसाइँ सर्ने गरेको आफ्नो अध्ययनबाट पाएको पनि सुनाए।

बसाइँसराइँका कारण विकास असन्तुलित बनाइरहेको उनको भनाइ थियो। उनले बसाइँसराइँका कारण राष्ट्रिय सुरक्षामा पनि चुतौनी थपिएको बताए। उनले अब बन्ने सरकार यी समस्या समाधान गर्नका लागि सचेत भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे।

सम्बन्धित पाेष्टहरु
Loading...