डडेल्धुरा: डडेल्धुराको भित्री मधेश क्षेत्रअन्तर्गत परशुराम नगरपालिका–५ परिगाउँस्थित परशुराम धाममा धार्मिक प्रवचन तथा सांस्कृति कार्यक्रम हुने भएको छ।
माघे संक्रान्तिको अवसरमा विश्व हिन्दु युवा संघ डडेल्धुराको आयोजनामा धार्मिक प्रवचन र सांस्कृति कार्यक्रम हुने भएको हो। उक्त कार्यक्रममा पुस २९, ३० र माघ १ गते आयोजना गरिएको हिन्दु युवा संघ डडेल्धुराका अध्यक्ष मोहन ऐर (रोहन)ले जानकारी दिए।
धार्मिक आस्था उजागर गर्ने र परशुराम धामलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजन गर्न लागिएको उनले बताए। हिन्दु युवा संघका जिल्ला अध्यक्ष ऐरले उक्त धार्मिक कार्यक्रम सफल पार्न सबैलाई सहयोगका लागि अपिलसमेत गरे। चार धाममध्येको एक परशुराम धाममा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ।
परशुरामधाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपछि होम गर्दा बनेको जनविश्वास छ। भगवान् परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुरामधाम राखिएको पुराणमा उल्लेख छ। यहाँ पुस मसान्तको रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने गर्दछन्। त्यसो गर्नाले धर्म कमाइने विश्वास छ।
माघे संक्रान्तिको बिहानै महाकाली किनारमा भक्तजनहरू नुहाउने गर्दछन्। माघे संक्रान्तिको दिन स्नान गरे पाप मोचन भई पून्य कमाइने जनविश्वास छ। परशुरामधाममा लाग्ने मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आउँछन्। यस क्षेत्रमा माघे संक्रान्तीबाहेक औँशी, पूर्णिमा तथा ग्रहण लागेको समयमा पनि दर्शनाथीहरू आउने गर्दछन्।
एकातिर चूरे पर्वत शृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि करिब सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको मोटर यात्राबाट पुग्न सकिन्छ।
स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णगिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यहीँ धाममा लामो समय तपस्या गरेका थिए। ‘सबै तीर्थ पटक–पटक, परशुराम एकपटक’ स्कन्दपुराणको मानसखण्डमा उल्लिखित यो भनाइले नै परशुराम धामको धार्मिक महत्व दर्शाउँछ।