Radio Unity 92.2MHz

परशुरामधाममा देशभरका स्थानीय तह प्रमुखलाई निम्तो

डडेल्धुरा: माघेसंक्रान्तिका अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने पर्वमा सहभागी हुन देशभरका स्थानीय तहका प्रमुखलाई निम्तो दिइएको छ।

डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने पर्वमा सहभागिताका लागि नगर प्रमुख र गाउँपालिका अध्यक्षलाई निमन्त्रणा गरेका हुन्।

मकर संक्रान्ति पर्व परशुराम नगरपालिका–५ महाकालीनदीको किनारमा अवस्थित ऐतिहासिक स्थल परशुरामधाममा प्रत्येक वर्ष महास्नान, भजनकीर्तनलगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ।

मेयर जोशीले सबै स्थानीय तहका प्रमुखलाई निमन्त्रणा पठाउँदै पर्वमा सहभागिताका लागि आग्रह गरेका हुन्।

‘यस पर्व मनाउन सहभागी भइदिनहुनुका साथै यहाँको धार्मिक, सांस्कृतिक पक्षको प्रचारप्रसार तथा संरक्षण र विकासमा योगदान गरिदिनहुन परशुराम नगरपालिकाकातर्फबाट हार्दिक निमन्त्रणा गर्दछु,’ पत्रमा लेखिएको छ।

नेपालभारतको सीमामा रहेको श्यामा (महाकाली) र ऐला (रंगुन) नदीको संगममा अवस्थित भृगुवंशी महर्षि जमदग्नी र रेणु पुत्रका भगवान परशुरामले तपस्या गरेको स्कन्द पुराणमा उल्लेख छ।

स्कन्द पुराणका अनुसार परशुरामधाममा स्नानको ठूलो महत्व हुन्छ। महाकाली नदीमा स्नान गर्दा गंगा स्नानको समान पूण्य प्राप्त हुने पौरााणिक मान्यता रहेको र माघ स्नानको ठूलो महत्व छ।

सम्बन्धित पाेष्टहरु
Loading...