डडेल्धुरा: डडेल्धुरामा ‘वडा स्तरीय महिलाका मुद्दा’ का बारेमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुकको संयुक्त आयोजनामा संचालित ‘महिला सशक्तिकरण र सामाजिक सचेतनामुलक परियोजना’ अन्तर्गत सोमबार सञ्चारकर्मीहसँग अन्तरक्रिया सम्पन्न भएको हो।
ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराले आयोजना गरेको उक्त कार्यक्रमलाई अधिवक्ता युवराज जोशीले सहजिकरण गरेका थिए। पछिल्लो तथ्यांकअनुसार जिल्लामा बहुविवाह तथा महिला हिंसाका घटनाहरू बढ्ने क्रममा रहेका छन्।
रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउँदका अनुसार महिलाका मुद्दा तथा हिंसाका घटना न्यूनिकरणमा योगदानका सम्बन्धमा जिल्लास्थित सञ्चारकर्मीहरुको भूमीका एवं परस्पर सहयोगी भूमिकको बारेमा कार्यशालामा छलफल गरिएको थियो।
अन्तरक्रियामा कानूनी व्यवस्था, महिला शसक्तिकरण एवं समुदायमा व्याप्त महिला हिंसाका सवालहरू सम्बन्धविच्छेद, अंसवण्डाजस्ता मुख्य सवालहरुमा छलफल गरिएको थियो। सम्बन्ध विच्छेदका विभिन्न कारणहरू भएपनि बालबिवाहलाई न्यूनीकरण गर्न सके सम्बन्ध विच्छेदका घटनाहरू धेरै हदसम्म कम गर्न सकिने अधिक्ता युवराज जोशीले बताए।
यसका साथै कार्यक्रममा रुडुक डडेल्धुराले यस आर्थिक वर्षमा सम्पादन गरेका सम्पूर्ण कार्यक्रमहरूको प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। जिल्लाका संकटासन्न पालिकाहरूमा विपद् जोखिम व्यवस्थापनका कार्यक्रम, शहरी विपद् तथा पूर्वतयारीका कार्यक्रम, नेपालको राजनीतिमा महिलाहरूको अर्थपूर्ण सहभागीता एवं उत्थानशिलता फलोअप र जीविकोपार्जन सहयोगका कार्यक्रमहरूबारे सञ्चारकर्मीलाई रुडुकले जानकारी गराएको छ।
आगामी दिनमा समुदायमा संचालित कार्यक्रमहरूमा सञ्चारकर्मीहरूसँग समन्वय एवं सहकार्य गरी समुदायका सुझावअनुसार कार्यक्रमहरु संचालन गर्ने रुडुक डडेल्धुराका कार्यकारी निर्देशक साउँदले बताए।