डडेल्धुराः जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सोमबारदेखि सेवाग्राहीको सुविधाका लागि टाइम कार्ड लागू गरेको छ। सोमबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय डडेल्धुराले दिने १० प्रकारका सेवामा टाइम कार्ड लागू गरेको छ।
जसअन्तर्गत हाललाई नयाँ नागरिकता, राहदानीको इनरोल्मेन्ट, राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण, राष्ट्रिय परिचयपत्र विवरण दर्ता, संघ/संस्था नविकरण, दलित/जनजाती प्रमाणित, मुद्दापेशी र तारेख, मुद्दाको फैसला, नाबालक परिचयपत्र र हातहतियार नविकरणका सेवाहरु प्रदान गर्नेछ।
आवश्यक कागजात पुगेको अवस्थामा १५ मिनेटमा सेवा दिने गरी टाइम कार्ड लागू गरिएको छ। जसअन्तर्गत १५ मिनेटभित्र राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण, दलित/जनजाती प्रमाणित, मुद्दापेशी र तारेखका सेवाहरु प्रदान गरिनेछन्। यस्तै ३० मिनेटभित्र राहदानीको इनरोल्मेन्ट, राष्ट्रिय परिचयपत्र विवरण दर्ता, संघ/संस्था नविकरण र हातहतियार नविकरण गरिने उल्लेख गरिएको छ।
यसैगरी ४५ मिनेटभित्र नयाँ नागरिकता र नावालक परिचयपत्र दिनेसमेत टाइम कार्डमा उल्लेख छ। प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा ६० दिनभित्र फैसला गर्ने लक्ष्य राखेर डडेल्धुरा जिल्ला प्रशासनले आफ्नो सेवामा परिमार्जन गरेको छ। अशक्त नागरिक, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती महिला, सानो बच्चासहितको महिलालाई लाइनमा नराखी प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ।
यसैगरी सेवा प्रवाहको क्रममा अनलाइनबाट प्रवाह हुने सेवाको हकमा सर्भरमा समस्या, विद्युत आपूर्तिमा समस्या आएमा तोकिएको समयावधी प्रभावित हुन सक्नेछ उल्लेख छ। समस्या सामाधान हुनासाथ यथाशीघ्र सेवा प्रवाह गरिनेसमेत टाइम कार्डमा उल्लेख गरिएको छ।