डडेल्धुराः हरेक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी डडेल्धुरामा पनि मनाइएको छ।
बुधबार जिल्ला सदरमुकाम अमरगढी–५ स्थित ‘अमरगढी किल्ला’मा रणबम गण दह ब्यारेक डडेल्धुराको आयोजना र अमरगढी नगरपालिका, अमरगढी किल्ला विकास समिति र शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराको सहकार्यमा पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइएको हो।
पृथ्वी जयन्तीको अवसरमा जिल्लास्थित सरोकारवाला निकायले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको फोटोमा माल्यापर्ण गरेका थिए भने सांस्कृतिक कार्यक्रमका साथै डडेल्धुरा अस्पताल र स्वास्थ्य कार्यालयको सहकार्यमा स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो।
यसैबीच, पृथ्वी जयन्तीको अवसरमा आयोजना गरिएको अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा माउन्टेन ईङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ।
ज्ञानोदय विद्या निकेतन द्वितिय, महेन्द्र माध्यमिक विद्यालय तृतिय र उग्रतारा मावि पोखराले सान्त्वना स्थान हासिल गरेका छिन्। हाजिरीजवाफ प्रतियोगितामा अमरगढी नगरपालिकाका ७ वटा विद्यालयको उपस्थिति रहेको थियो।
प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने विद्यालयलाई क्रमशः शिल्ड, मेडल र प्रमाणपत्रसहित पुरस्कार वितरण गरिएको आयोजक रणबम गण दह ब्यारेक डडेल्धुराले जनाएको छ।
वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका पहिलो सन्तानको पृथ्वीनारायण शाहको जन्म भएको थियो। वि.सं. १७९९ चैत २५ गते पृथ्वीनारायण शाह गोरखा राज्यको राजा भएका थिए।
त्यसअघि नेपाल बाईसे तथा चौबिसे राज्यमा विभाजित थियो।
पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार भएको थियो।
पृथ्वीनारायणको निधनपछि उनका छोरा बहादुर शाहले पश्चिमको काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।
पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजय गरेका गरेका थिए।
त्यसको २५ वर्षपछि १८२६ मा काठमाडौँ उपत्यका विजय हासिल गरेका गरेका थिए। उनको निधन वि.सं. १८३१ मा भएको थियो। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।