Radio Unity 92.2MHz

खगराजको राजनीतिक यात्रा : साढे ९ महिना जेलदेखि मन्त्रीसम्म

डडेल्धुराः सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपराह्न एमाले संसदीय दलका नेता समेत रहेका रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

रावलले ३ सदस्यीय मन्त्रिपरिषद् पनि बनाएका छन् । माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले बिहीबार नै मन्त्रीको शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

भट्ट मुख्यमन्त्रीका दाबेदार पनि हुन् । सत्ता गठबन्धनमा भएको आलोपालोमा पहिलो मुख्यमन्त्री एमालेको भागमा गरेपछि भट्ट मन्त्री नै बन्न तयार भएका हुन् ।

को हुन् खगराज ?

भट्टको जन्म वि.स २०३१ पुस २ गते साविक चिपुर गाविस–६ चौडीमा भएको हो। भट्टले कलिलै उमेरदेखि राजनीति सुरु गरे। १६ वर्षको उमेरमा राजनीतिमा होमिएका भट्टले तत्कालीन एकता केन्द्रको पार्टी सदस्यता २०४७ सालमा लिए।

तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका आफ्ना दाजु जयराज भट्टको प्रेरणाले उनी माओवादी राजनीतिमा सक्रिय भएर लागेका हुन्। विद्यार्थी राजनीति र पार्टी राजनीतिमा सँगै जोडिएका खगराज २०५० सालमा पार्टीको डडेल्धुरा जिल्ला कमिटी सदस्य बने।

पार्टी राजनीतिका साथै उनी विद्यार्थी संगठनमा पनि क्रियाशील रहे। २०५२ सालयता केही वर्ष भने उनी कहिले डडेल्धुराको त कहिले कञ्चनपुर गरी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षको भूमिका निर्वाह गरे।

माओवादीले सशस्त्र विद्रोह सुरु गरेपछि ०५० साल फागुनमा उनी पूर्णकालीन भए। ०५२ साल २४ फागुनमा डडेल्धुराबाट उनी पक्राउ परे। उनी सानै उमेरमा जेलसमेत परे। भट्ट साढे नौ महिना हिरासतमा बसे। अदालतको आदेशपछि उनी जेलबाट छुटे।

२०५४ सालमा उनी अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बने। त्यसपछि ०५८ सालमा दार्चुला, बैतडी र डडेल्धुराको ‘सेक्रेटरी’को रूपमा उनले काम गरे। त्यसबेला माओवादीले तीनरचार जिल्ला मिलाएर एक जिल्ला बनाएको हुन्थ्यो।

०६० सालमा भट्ट पार्टीको केन्द्रीय सदस्य बने। माओवादीको चुनवाङ बैठकमा सबैको एक पद घटुवा भयो। र, त्यसमा भट्ट पनि परे। त्यसपछि उनले सुदूरपश्चिम राज्य कमिटी सचिवको जिम्मेवारी प्राप्त गरे।

०७० पछि उनी सोही कमिटीको संयोजक बने। नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा हुँदा उनी केन्द्रीय सदस्य बनेका थिए। आइएलसम्म अध्ययन गरेका भट्ट जनतामाझ लोकप्रिय नेता पनि हुन्।

भट्टको परिवार नै राजनीतिमा होमिएको छ। उनकी पत्नी मञ्जु वम माओवादीबाट पहिलोपटक संसद्मा सहभागी हुँदा अन्तरिम विधायिका भइन्। उनका भाइ उमेशप्रसाद भट्ट ‘विकास’ डडेल्धुराको अजयमेरु गाउँपालिकामा दोस्रो कार्यकाल अध्यक्ष छन्। ‘विकास’ माओवादी केन्द्र डडेल्धुरा संयोजकसमेत हुन्।

देउवासँगको ह्याट्रिक हार भोगेका नेता

भट्ट संसदीय राजनीतिमा तीनपटकसम्म हारेका नेतासमेत हुन्। उनी नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग तीनपटक चुनाव हारे। संसदीय निर्वाचनमा देउवाको छायामा परिरहेका नेता भट्ट यसपटक भने उनले हारको श्रृंखलालाई तोडेका छन्। उनलाई हारको खराब रेकर्ड तोड्न १५ वर्ष लाग्यो।

उनी पहिलोपटक ०६४ सालको निर्वाचनमा थोरै मतले देउवासँग पराजित भएका थिए। पहिलो संविधानसभा निर्वाचनमा देउवासँग केवल १ हजार ३६८ मतान्तरले हारे। ०७० सालको निर्वाचनमा पनि भट्ट देउवासँग दोब्बर मत अन्तरमा पराजित भए।

त्यतिबेला देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत मात्रै पाए। २०७४ को चुनावमा वाम गठबन्धन हुुँदा पनि खगराज देउवासँग ६ हजार ९२९ मत हारे।

यसरी खगराजको राजनीतिक यात्रामा देउवा निरन्तर बाधक बनिरहे। तर, यसपल्ट भने देउवाको पार्टी नेपाली कांग्रेसको सहयोगमा भट्ट विजयी भए। र, माओवादीको सहयोग देउवा पनि भारीमतले चुनाव जिते। भट्ट नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवं स्थायी समिति सदस्यसमेत हुन्।

गत मंसिरमा भएको प्रदेश सभाको निर्वाचनमा डडेल्धुरा प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)  उम्मेदवार बन्दै भट्ट विजयी भएका थिए।

उनले सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार मन्त्री नेकपा एमालेका पठानसिंह बोहरालाई पराजित गरेका थिए। भट्टले १२ हजार ११२ मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन् भने बोहराले ९ हजार १९५ मत पाए।

सम्बन्धित पाेष्टहरु
Loading...