- हरिश चन्द
डडेल्धुराः खानेपानीको समस्या भोग्दै आएको डडेल्धुराको परशुराम नगरपालिका–४स्थित कटाल क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ।
कटालमा यस वर्ष तीन सय ७२ घरमा खानेपानीका घारा जडान भइसकेका छन्। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोग र जन श्रमदान गरि खानेपानी योजना निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराका इन्जिनियर धिरज ऐरले जानकारी दिए।
इन्जिनियर ऐरकाअनुसार प्रदेश सरकारको ३ करोड ९३ लाख ६९ हजार २ सय रुपैयाँ र बाँकी जनश्रमदान गरि ४ करोड ९० लाख ८६ हजार ५७३ रुपैयाँको लागतमा खानेपानी योजना निर्माण गरिएको हो।
कटालबासीको घर–घरमा खानेपानीका धारा जडान भएपछि खानेपानीको समस्या समाधान भएको छ। अव्यवस्थित खानेपानीका धारा रहेको कारण समस्या हुँदै आएको बताउँदै स्थानीय शेरसिह मालले अब त्यो समस्या समाधान भएको बताए।
उनले घण्टौसम्म लाईनमा बस्नु पर्ने र झगडा समेत हुने गरेकोले बताउँदैै घरमै मिटरसहितको धारा जडानले आफूहरू खुसी भएको बताए।
खानेपानी समस्या भएको कटाल क्षेत्रमा २ घण्टा लगाएर गाग्रिमा पानि ल्याएर आउनु पर्ने दुखेसो पोख्दै धौलीदेवी बोहराले खुसी व्यक्त गरिन्। ‘एक घर एक धारा’ कार्यक्रमले यहाँका करिब दुई सय घरधुरी लाभान्वित भएका छन्।