डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
आलिताल गाउँपालिकाको आयोजना तथा दुर्गा माविको व्यवस्थापनमा शुक्रबारदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हो। प्रतियोगिताको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले एक भव्य कार्यक्रमकाबीच उद्घाटन गरे।
उनले विद्यालयस्तरीय प्रतियोगिताबाटै भविष्यमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको पहिचान गर्न सकिने भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए। उनले प्रतियोगितामा सहभागिता जनाएका विद्यार्थीहरूलाई अनुशासित र नियमपूर्वक आफ्नो खेल प्रदर्शन गर्न आग्रह समेत गरे।
उपाध्यक्ष मैनाकुमारी रावलले विद्यालयस्तरीय प्रतियोगिता नै खेलकुदको मेरुदण्ड भएको बताइन्। कलिलो उमेरका खेलाडीलाई संरक्षण गर्न सके देशका लागि सक्षम खेलाडी तयार गर्न टेवा पुग्ने उनको भनाइ थियो।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले आलिताल गाउँपालिकाले धेरै खेलाडीहरू उत्पादन गर्न सफल भएको बताए। उनले अझै राम्रा खेलाडीहरू उत्दापन गर्नमा गाउँपालिका तथा प्रशिक्षकहरूले ध्यान दिनुपर्ने औंल्याए। आलिताल–८ डोलामा रहेको दुर्गा माविको प्राङ्गणमा भइरहेको प्रतियोगितामा पालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको छ।
भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा गरी पाँच सय खेलाडी सहभागी छन्। माघ २२ गतेसम्म संचालन हुने पालिकास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।