डडेल्धुराः डडेल्धुरामा प्रदेश कृषि कार्यक्रम प्रभावकारी कार्यान्वयन तथा समन्वय सम्बन्धी एकदिने अन्तक्रिया गोष्ठी सम्पन भएको छ। आइतबार जिल्ला सदरमुकाममा कृषि विकास निर्देशनालय दिपाल डोटीको आयोजनामा एकदिने अन्तक्रिया गोष्ठी सम्पन भएको हो।
कार्यक्रममा कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्र डडेल्धुराले चालु आर्थिक वर्षको कार्यक्रमबारे जानकारी दिएका थिए। कृषि विकास निर्देशनालय डोटीको तथ्याङ्कले जिल्लामा खेती योग्य जमिन दिनप्रतिदिन घट्दै गइरहेको देखाएको छ। जिल्लामा एक लाख ५३ हजार ८ सय हेक्टर क्षेत्रफल जमिन रहेको भए पनि ११ हजार ६ सय १६ मध्ये १० हजार ६ सय ६७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको छ।
बाढी, पहिरो, भु–क्षय तथा विकास निर्माणका कामहरू लगायतका कारणले हरेक वर्ष जिल्लाको खेती योग्य जमिन घट्दै गइरहेको निर्देशनालय दिपालय डोटीले जनाएको छ। डडेल्धुरामा धान, गहु, मकै, जौं लगायतका अन्नबालीहरु उत्पादन हुने गरेका छन्।
जिल्लामा ६५ प्रतिशत नागरिक कृषि पेशामा निर्भर रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए। उनले चालु आर्थिक वर्षमा संघिय सशर्त अनुदान कार्यक्रम अन्र्तगत ब्लक विकास, मकै प्रवद्र्धन, दलहन, तेलहन पलफुल विकास कार्यक्रम आदी सञ्चालनमा रहेको जानकारी दिए।
कृषि विकास निर्देशनालय दिपाल डोटीका निमित्त निर्देशक यज्ञराज जोशीले सुदूरपश्चिममा माटो उर्वर शक्तिमा समेत ह्रास आइरहेको जानकारी दिए। उनले माटो अरबौ/खरबौ जीवहरूको वासस्थान रहेको र जसका कारण हाम्रो अस्तित्व कायम रहेको बताए।
‘एक ईन्च माटो बन्नलाई पाँच सय वर्ष लाग्छ। माटो उर्वर छ भन्नलाई कम्तिमा पनि ३ दशमलव ६ प्रतिशत प्राङ्गारिक पदार्थ हुनुपर्छ,’ उनले भने, ‘अहिले सम्मको तथ्याङ्क हेर्दा ५२ प्रतिशत खेतियोग्य जमिन नाश भइसकेको छ।’
माटो उर्वर शक्तिमा ह्रास आउँदा खाद्य संकट निम्तिन सक्ने उनले जिकिर गरे। रसायनिक मल प्रयोगमा ध्यान दिएर प्राङगारिक मल प्रयोगमा जोड दिनु पर्नेमा उनले जोड दिए। कार्यक्रममा जिल्लाका ७ वटै स्थानीय तहका नगरप्रमुख/अध्यक्ष, उपाध्यक्ष, कृषि शाखा प्रमुख, कृषि ज्ञान केन्द्रका कर्मचारी तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो।