डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकामा भएको प्रथम उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सहश्रलिङ्ग मावि चमडले जितेको छ।
सोमबार सम्पन्न गाउँपालिकास्तरीय उपराष्ट्रपति रनिङ शिल्डमा प्रथम स्थान हासिल गर्दै सहश्रलिङ्ग माविले शिल्डमाथि कब्जा जमाएको हो। उसले ६ स्वर्ण र ३ रजत पदक जित्दै प्रथम स्थान हासिल गर्यो।
उपाधिसँगै सहश्रलिङ्गले नगद १५ हजार, शिल्ड र प्रमाणपत्र पनि पाएको छ। गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ र निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबहादुर सेटीले संयुक्तरूपमा विद्यालयलाई शिल्ड हस्तान्त्ररण गरे।
प्रतियोगितामा चेतना मावि राजुल द्धितीय भएको छ। उसले ३ स्वर्ण, १ रजत र २ कास्य जित्यो। चेतना माविले १२ हजार र प्रमाणपत्र पायो। तेस्रो भएको भद्रपुर मावि भद्रपुले २ स्वर्ण र २ रजत हात पारेको गाउँपालिका खेलकुद प्रशिक्षक ओमप्रकाश पन्तले जानकारी दिए। उसले १० हजार नगद र प्रमाणपत्र पनि प्राप्त गरेको छ।
गाउँपालिकाले पहिलोपटक आधारभूत तह (१–८) विद्यालयस्तरीय उपराष्ट्रपति रनिङ शिल्ड आयोजना गरेको थियो। आइतबारबाट सुरु भएको प्रतियोगितामा एक संस्थागत र १६ सामुदायिक गरी १७ वटा विद्यालयको सहभागिता रहेको थियो।
प्रतियोगितामा दौड, कराते, हाइजम्प, लम्जम्पलगायतका खेलहरू खेलाइएको थियो। प्रतियोगिताका खेल अजयमेरु–३ चन्बेताल खेल मैदानमा भएका थिए।
अजयमेरु गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भने फागुन ४ गतेदेखि सुरु हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत सेटीले जानकारी दिए।
उनका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मावि तहसम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउने छन्। राष्ट्रपति रनिङ शिल्डका खेलहरू पनि अजयमेरु–३ चन्बेताल खेल मैदानमै हुने उनले बताए। प्रतियोगिता फागुन ४ र ५ गते संचालन हुनेछ।