- विमलप्रसाद बोहरा
डडेल्धुरा: बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजविरुद्ध डडेल्धुराका उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन्। चर्को ब्याजविरुद्ध डडेल्धुरा उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगी, व्यापारीहरूले मंगलबार प्रदर्शन गरेका हुन्।
व्यवसायीहरूले पहिलो चरणमा बिहानन ११ बजेसम्म बजार बन्द गर्नुका साथै शान्तिपूर्ण र्याली निकालेका छन्। बागबजारदेखि सुरु गरेको र्याली तुफानडाँडा हुँदै फेरि बागबजार पुगेर कोणसभामा परिणत भएको थियो। ‘ब्याजमा एकरूपता कायम गर, बैंक सधै नाफामा व्यापारी घाटामा, व्यावसायीक एकता जिन्दावाद’ लगायतका नारासहित बजार परिक्रम गरेका थिए।
बैंकको चर्को ब्याजदरविरुद्ध शान्तिपूर्ण विरोध र्याली निकालिएको डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले बताए। उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नागरिक समाज र उद्योगी व्यवसायीहरूको उपस्थितिमा सोमबार बसेको बैठकले आन्दोलन गर्ने निर्णय गरेको थियो।
यस्तै, चरणबद्ध कार्यक्रमअन्तर्गत १७ गते बैंकमा धर्ना दिने, १८ गते कुनै पनि बैंकमा बचत नगर्ने (नो डिपोजिट) र त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरिने अध्यक्ष भट्टले जानकारी दिए। आन्दोलनलाई विभिन्न १३ सघंले ऐक्यबद्धता जनाएका छन्।
डडेल्धुराका व्यवसायीहरू विभिन्न ९ वटा मागसमेत अघि सारेका छन्। डडेल्धुरामा रहेको शिवशिखर सहकारी संस्था लिमिटेडले जिल्लाका व्यवसायी र सर्वसाधारणबाट संकलन गरेको निक्षेप रकम निमयमानुसार फिर्ता गर्न जोडदार माग गरिएको छ। डडेल्धुरामा रहेका लघुवित्त संस्थाले लिने अस्वभाविक ब्याज र सेवा शुल्कका कारण धेरैको उठिबास भइरहेकाले आवश्यक अनुगमन गरी नियमानुसार सञ्चालनको माग यहाँका व्यवसायीहरूको छ।
यस्ता छन् ९ वटा माग
१) कर्जामा भएको ब्याजदर अबिलम्ब एकल अंक हुने गरी घटाउन र व्यवसायीलाई मानसिक तनाव दिने प्रवृत्तिको अन्त्य गर्न किस्ता र ब्याजको समय सीमा बढाउन माग गर्दछौं।
२) बैंकहरुको खर्च न्यूनीकरण गरी स्पेड दर तीन प्रतिशतभित्र रही जोखिमका आधारमा बढीमा २ प्रतिशत मात्र थप प्रिमियम लिन पाइने व्यवस्थाको माग गर्दछौं।
३) बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल.सी., नेगोशेशन शुल्क बृद्धिलाई अन्त्य गरी गत वर्षको भन्दा बढी लिन नपाइने माग गर्दछौं ।
४) हाल भएको कर्जालाई यस आर्थिक वर्षसम्म पुनः तालिकरण गरी ब्याज बुझाउने म्यादलाई नियमित हाल्ने र लिलाम तथा कालोसूची गर्ने प्रक्रियालाई हाल स्थगित गर्न माग गर्दछौं।
५) हालको बाह्य र आन्तरिक कारणको समय उपयुक्त नभएकाले चालू पुजी कर्जा निर्देशिका स्थगनको माग गर्दछौं।
६) विभिन्न शिर्षकमा लिइने सेवा शुल्कलाई पारदर्शी, मनासिव बनाउन कर्जाको ब्याजदर पुर्नसंरचना गर्न माग गर्दछौं।
७) अस्थिरताका कारण थला परेको अर्थतन्त्र उकास्न विशेष कार्यक्रमको व्यवस्था गर्न, बैंकको मुनाफालाई रोजगार सिर्जना एवंम पर्यटन, कृषिलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्न माग गर्दछौं।
८) डडेल्धुरामा रहेको शिवशिखर सहकारी संस्था लिमिटेडले यस जिल्लाका व्यवसायी र सर्वसाधारणबाट संकलन गरेको निक्षेप रकम निमयमानुसार फिर्ता गर्न जोडदार माग गर्दछौं।
९) डडेल्धुरामा रहेका लघुवित्त संस्थाले लिने अस्वभाविक ब्याज र सेवा शुल्कका कारण धेरैको उठिबास भइरहेकाले आवश्यक अनुगमन गरी नियमानुसार सञ्चालनका लागि जोडदार माग गर्दछौं।