Radio Unity 92.2MHz

डडेल्धुरामा लघुवित्तविरुद्ध प्रदर्शन तथा धर्ना

डडेल्धुरा: डडेल्धुरामा लघुवित्तीय संस्थाहरूविरुद्ध प्रदर्शन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, डडेल्धुरा अगाडि लघुवित्तीय संस्थाहरूले व्याजदर वृद्धि गरेको भन्दै विरोध प्रदर्शन गरिएको हो।

मंगलबार दिउँसो लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति डडेल्धुराले प्रशासनमा र्‍यालीसहित विरोध प्रदर्शन तथा धर्ना दिएको छ । उनीहरू ‘नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर, लघुवित्तीय संस्थाहरूद्वारा लगाएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको, व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोधमा उत्रिएका छन्।

विरोध प्रदर्शन तथा धर्ना कार्यक्रममा लघुवित्तविरुद्ध जिल्ला संघर्ष समिति डडेल्धुराका अध्यक्ष जगत सार्की, संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम अध्यक्ष मनिप्रसाद चौलागाईंको उपस्थिति रहेको थियो।

मंगलबार सातै वटा प्रदेशमा लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम राखेको अध्यक्ष चौलागाईंले जानकारी दिए। उनले लघुवित्तले गरेको ज्यायजदी, महिला दिदीबहिनीमाथि गरेको आर्थिक शोषणविरुद्ध आफूहरू दशैभर आन्दोलन गर्दै आइरहेको बताए।

सम्बन्धित पाेष्टहरु
Loading...