डडेल्धुरा: डडेल्धुरामा ढुंगा प्रहार गरी एक महिलाको हत्या भएको छ। जिल्लाको परशुराम–५ बसगौरा बस्ने ६३ वर्षीया गोमती थापा मगरको हत्या भएकोे हो।
थापालाई परशुराम नगरपालिका–४ रज्यौडाका गोपाल राउटेले ढुंगा प्रहार गरी घाइते बनाएका थिए। सो खबर पाउना साथ इलाका प्रसाशन कार्यालय जोगबुढाको टोली घटना स्थलमा पुगेको थियो।
प्रहरी पुग्दा महिलाको मृत्यु भइसकेको इलाका प्रशासन कार्यालय जोगबुढाका प्रहरी निरीक्षक इन्सपेक्टर गंगादत्त बडुले जानकारी दिए। उनका अनुसार थापा मगरको शव जोगबुढा अस्पतालमा राखिएको छ।
हत्या गर्ने राउटे फरार रहेको र उनको खोजी कार्य भइरहेको उनले बताए। फरार अभियुक्तको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशी नेतृत्वको टोली खटिएको छ। अभियुक्त पक्राउ परेपछि मात्र हत्याको कारण खुल्ने जोशीले बताए।