डडेल्धुरा: डडेल्धुरामा चालु शैक्षिक सत्रमा समयमै किताबको आपूर्ती भएको छ।
हरेक वर्ष शैक्षिक सत्र शुरु भएको दुई तीन महिनापछि मात्रै किताब पाइने भएपनि यो वर्ष समयमै किताब उपलब्ध भएको हो।
यसवर्ष समयमै पाठ्यपुस्तक पुगेको र विद्यार्थीलाई वितरण गरिरहेको घटाल माविका प्रधानाध्यापक गणेशबहादुर साउदले जानकारी दिएका छन्।
‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ नारासहित भर्ना अभियान समेत सञ्चालनमा रहेको उनको भनाइ छ।
‘विगतमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्या थियो। विद्यार्थी विद्यालयमा आउने, पाठ्यपुस्तक नहुने र शिक्षकले आफ्नै पाठ्यपुस्तकले शिक्षण गर्नुपर्दा विद्यार्थीलाई समस्या हुन्थ्यो,’ उनले भने, ‘यसपटक समयमै विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ। यसको प्रभाव शैक्षिक गुणस्तरमा पर्नेछ।’
गत वर्ष पाठ्यपुस्तक अभावले यहाँका विद्यार्थी समस्यामा परेका थिए।
शैक्षिक सत्रको सुरूमै पाठ्यपुस्तक विद्यालयमा पुग्न लागेकोले पढाइमा समस्या नहुने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नारदप्रसाद जोशीले बताए।
उनकाअनुसार डडेल्धुराका सप्लायर्सहरूले धनगढीबाट पाठ्यपुस्तक जिल्लामा पु¥याइरहेका छन्।
भर्ना भएकै दिन किताब पाउँदा विद्यार्थीहरु हर्षित भएका छन्।