Radio Unity 92.2MHz

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा अजयमेरूमा

डडेल्धुरा: सनराइज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा संख्या एक सय दुई पुगेको छ।

शुक्रबार एक कार्यक्रमकाबीच बैंकले डडेल्धराको अजयमेरू गाउँपालिका–५ देवलदिव्यपुरमा शाखा रहित बैंकिङ्ग सेवाको सुरूवात गरेसँगै बैंकिङ्ग सेवा संख्या एक सय दुई पुगेको हो।

बैंकले देवलदिव्यपुरम खोलेको शाखा रहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा नरेश भट्टलार्ई नियुक्त गरेको सनराइज बैंक डडेल्धुरा शाखा प्रमुख गणेशबहादुर साउँदले जानकारी दिए।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने उनको भनाइ छ।

उनकाअनुसार यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिन सकिने छ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरूमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ।

हालसम्म सनराइज बैंकले एक सय ३९ वटा शाखा, एक सय दुई वटा शाखा रहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा एटीएममार्फत सात लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा, अन्य स्थानहरूमा पनि बैकिङ्ग सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ। कार्यक्रममा अजयमेरू गाउँपालिका–५ का वडाअध्यक्ष राजबहादुर पाल, बैंकका कर्मचारी, स्थानीय व्यापारी, बुद्विजिवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...