Radio Unity 92.2MHz

डडेल्धुरामा ‘साइबर सुरक्षा र डिजिटल साक्षरता’बारे कार्यशाला

डडेल्धुरा: डडेल्धुरा सरदुमकाममा ‘साइबर सुरक्षा र डिजिटल साक्षरता’बारे एकदिने प्रदेश स्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ। कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान) सुदूरपश्चिमको आयोजना तथा क्यान डडेल्धुराको संयोजनमा शनिबार एकदिने कार्यशाला गोष्ठी सकिएको हो।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा कार्यशाला गोष्ठी आयोजना गरिएको क्यान सुदूरपश्चिमका अध्यक्ष धनबहादुर बोगटीले जानकारी दिए।

कार्यक्रममा डिजिटल साक्षरताबारे प्रदेश निर्वाचन कार्यालय सुदूरपश्चिमका प्रमुख प्रेमराज भट्ट तथा साइबर सुरक्षा र कानूनी व्यस्थाबारेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक वकिलबहादुर सिंह र प्रतापसिंह कठायतले प्रकाश पारेका थिए।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले साइबर ब्यूरो प्रत्येक जिल्लामा स्थापना गर्नुपर्ने कुरा आफूले प्रदेशसभामा उठाउने बताइन्। सूचना तथा प्रविधिबारे ज्ञान लिनु आवश्यक रहेको तर प्रविधिको दुरुपयोग पनि भइरहेको उनको भनाइ थियो।

गाउँठाउँमा साइबर अपराधबारे जनचेतनामूलक कार्यक्रम गर्नु आवश्यक रहेको उनले औंल्याइन्। विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशसभा डा ताराप्रसाद जोशीले सूचना प्रविधिले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले सूचना प्रविधिबाट धेरै ज्ञान पाइरहेको र त्यसको ज्ञान र जानकारी हुनु आवश्यक रहेको बताए। क्यान सुदूरपश्चिमका अध्यक्ष बोगटीले आफूहरूलाई सहयोग मिले स्थानीय तहमै गएर साइबर सुरक्षा र डिजिटल साक्षरताबारे जनचेतनामूलक कार्यक्रम गर्न तयार रहेको बताए।

सम्बन्धित पाेष्टहरु
Loading...